पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

डोल्पा ।  जिल्लालाई पूर्णखोप सुनिश्चितता, निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।  सदरमुकाम दुनैमा आयोजित कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकिएका सबै मापदण्ड पूरा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो । गत वर्ष कर्णाली प्रदेशमा पूर्णखोप सुनिश्चितता, निरन्तरता तथा दिगोपना घोषणामा अन्तिम स्थानमा रहेको डोल्पाले यस वर्ष उल्लेखनीय सुधार गर्दै दोस्रो स्थान हासिल गरेको छ ।

स्वास्थ्य सेवाको पहुँच विस्तार, खोप व्यवस्थापनमा सुधार तथा अभिलेखीकरण प्रणालीलाई व्यवस्थित बनाइएपछि जिल्लाले यो सफलता प्राप्त गरेको हो । राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाभित्र बालबालिकाले पाउनुपर्ने सबै खोप सुनिश्चित गरिएको तथा १६ देखि २३ महिनासम्मका बालबालिकाको खोप अवस्थाको मूल्याङ्कनका आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

घोषणा कार्यक्रममा कर्णाली प्रदेशका प्रतिनिधि ओमप्रकाश पौडेलले दुर्गम जिल्लाका रूपमा रहेको डोल्पाले छोटो समयमै हासिल गरेको प्रगति प्रशंसनीय रहेको बताए । उनले आगामी दिनमा पनि खोप कार्यक्रमलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा उहाँले पूर्णखोप सुनिश्चितता, निरन्तरता तथा दिगोपना घोषणाको प्रमाणपत्र जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्यामबहादुर रोकायालाई हस्तान्तरण गरेका  थिए ।

कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहलाई सम्मान गरिएको थियो भने स्वास्थ्य प्रमुखहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सबैभन्दा पहिले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने स्थानीय तहका रूपमा त्रिपुरासुन्दरी नगरपालिकालाई विशेष सम्मानसमेत गरिएको थियो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष रोकायाले स्वास्थ्यकर्मी, स्थानीय तह र समुदायको सक्रिय सहभागिताका कारण जिल्लाले यो उपलब्धि हासिल गरेको बताए ।

उनले आगामी दिनमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए । स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. सिजन रावलले पूर्णखोप घोषणा नियमित प्रक्रिया भए पनि तथ्याङ्कको शुद्धता र सबै बालबालिकाको पहुँचमा खोप सेवा पुर्‍याउनु सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए ।