किसान लघुवित्तको नाफा १५ करोड नजिक

प्रतिशेयर आम्दानी कति ?

काठमाडौं, किसान लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तयि विवरण सार्वजनिक गरेको छ।

यस अवधिमा लघुवित्तले १४ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा एक हजार ८५८.०५ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको खुद नाफा ७६ लाख रुपैयाँ मात्र सीमित थियो।

चुक्ता पूँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २४ करोड २५ लाख रुपैयाँ सञ्चित छ।

असार मसान्तसम्ममा एक अर्ब १३ करोड दुई लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर ५ अर्ब ८१ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा लघुवित्तले ४० करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११३.४२ प्रतिशतले बढी हो। त्यसैगरी लघुवित्तको सञ्चालन आम्दानी समेत उल्लेख्य रुपमा बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा ९२९.३७ प्रतिशतले बढेर १७ करोड रुपैयाँ रहेको छ।

यस अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात १.५३ प्रतिशत विन्दुले बढेर ३.४६ प्रतिशत पुगेको देखिन्छ।

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी समेत वृद्धि भएको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९५ पैसा कायम भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ६२ पैसा छ भने मूल्य आम्दानी अनुपात ४५.८५ गुणा छ।