गठबन्धनका कारण पार्टीभित्रका महत्त्वपूर्ण साथी छुटे : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटेका बताएका छन् । स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आज आयोजित विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई पनि अवसर दिन नसकेको बताए ।

गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भन्दै उनले यो बाध्यतालाई बुझ्नुपर्ने बताए । अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत प्रधानमन्त्री देउवाले आश्वासन दिए। उनले भने, ‘‘हिजो मात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौँ, आगामी दिनमा साथीहरूलाई समेटिनेछ ।’

प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि देउवाले हिजो (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गरेका थिए । मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने भय बढेको छ ।

प्रधानन्यायाधीश जबराका जेठान तथा गैर सांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर न्यायपालिका, संविधानवाद र लोकतन्त्रमाथि हमला गरिएको भन्दै पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले गम्भीर आपत्तिसमेत जनाएका छन् ।