सुर्खेत – नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।
त्रिशुली हुँदै काठमाडौँ जान लागेको बा ४ ख ५७६२ नं. को बस आज बिहान ११ बजे मनकामना आइपुग्दा ब्रेकले काम नगरेपछि दुर्घटना भएकाे र घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाे नुवाकोट प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार यात्रुले खचाखच भरिएको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको बताए ।
घाइते भएकामध्ये गम्भीर अवस्थाका चारजनालाई हेलिकप्टर र चार जनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ। बाँकी ३० जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ। घाइते भएका अधिकांश बसको छतमा बसेका यात्रु रहेको प्रहरीले जनाएको छ।
बसले नियन्त्रण गुमाउन थालेसँगै छतमा यात्रा गरिरहेका हाम्फाल्दा टाउको र खुट्टामा चोट लागेको छ।
बसको ब्रेक नलागेपछि चालकले विपरीत दिशातर्फ मोडेर बसलाई नालीमा अड्काएका कारण ठूलो क्षति हुनबाट जोगिएको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए।
दुर्घटनाको समयमा उक्त बसमा ५५ जनाभन्दा बढी यात्रु रहेको र उनीहरु दसैँ मनाएर काठमाडौँतर्फ जान लागेकाे समेत प्रहरीले बताएको छ ।
कार्यविधि संवाददाता । १ कार्तिक २०७८, सोमबार १६:१७ बजे