विश्वभर २४ करोड रेड्मी नोट फोन बिक्री

काठमाडौं । साओमीको सहायक ब्राण्ड रेड्मीले विश्वभर २४ करोडभन्दा बढी नोट सिरिजका फोन बिक्री गरेको छ । रेड्मी ब्राण्डका जनरल म्यानेजर फु वेइबिङले हालै एक कार्यक्रममा बोल्दै सात वर्षको अवधिमा कम्पनीले यो संख्यामा नोट फोन बिक्री गरेको जानकारी दिएका हुन् ।

उनका अनुसार पछिल्ला दुई वर्षमा रेड्मी फोनको बिक्री उल्लेख्य बढेको छ । गत मे महिनायता मात्र चार करोड नोट फोन बिक्री भएको छ । गत वर्षको नोभेम्बरसम्म १४ करोड रेड्मी नोट फोनहरु बिक्री भएका थिए ।

एक वर्ष नपुग्दै कम्पनीले थप १० करोड नाेट सिरिज फोन बिक्री गर्न सफल भएको छ ।

हालै कम्पनीले तीन मोडलमा रेड्मी नोट ११ सिरिजसमेत सार्वजनिक गरेको छ । जसले अझ फोन बिक्री संख्या बढाउने कम्पनीको विश्वास छ ।

विशेषगरी कम्पनीले मिडरेन्ज सेगमेन्टमा रेड्मी नोट फोन उपलब्ध गराउने गर्छ । साओमीले नेपाली बजारमा पनि आफ्ना रेड्मी फोन विस्तार गरिरहेको छ ।

यसैबीच साओमीले अक्टोबर महिनाको अन्त्यसम्म विश्वभर १० हजार रिटेल नेटवर्क विस्तार गरिसक्ने पनि फु वेइबिङले जनाएका छन् ।