प्रहरीद्धारा सुरक्षित यात्रा अभियान सुरु

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको यात्रा सुरक्षित गर्नको लागि  कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले राजमार्ग तथा शहरी क्षेत्रहरुमा ‘सुरक्षित यात्रा अभियान’ सुरु गरेको छ ।

बुधबारदेखि सवारी दुर्घटना न्यूनीकरण गर्ने र यात्रु तथा चालकलाई सचेतना गर्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो । कर्णाली प्रदेशका १० वटा जिल्लामा रहेका ट्राफिक प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्टहरुबाट एकसाथ उक्त अभियान सुरु गरेको प्रदेश प्रहरीले जनाएको छ ।

कर्णाली  प्रदेशकाे  मुख्य प्रवेशद्धार भेरीगंगा–५, बबई चेकप्वाईन्टबाट बुधबार दिउँसो प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) माधवप्रसाद श्रेष्ठले अभियानको शुभारम्भ गरेका हुन् ।

‘यात्रुसँग प्रहरी प्रतिको अपेक्षा केछ, त्यो पनि संकलन गरिनेछ । साथै सवारी साधनमा यात्रा गर्दा यात्रुहरुले ध्यान दिनुपर्ने कुराहरु, सवारी चालकको पहिचान, चालकले खानाखाँदा मापसे गरेनगरेको र लामो दुरीको सवारी साधनमा दुईजना चालक भएनभएको बारे जानकारी लिन्छौं । सचेनता पनि दिन्छौं,’ एसएपपी श्रेष्ठले भने ।

उहाँले सवारी दुर्घटनालाई न्यून गर्न र सडक दुर्घटनाबाट एक जनाको पनि ज्यान नजाओस भन्नको लागि कर्णाली प्रदेशका १० वटा जिल्लामा अभियान अन्तरर्गत  जानकारी लिइने पनि बताएका हुन्  ।

त्यस्तै अभियानको सुरुवात गर्दै  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख (एसपी) प्रज्वल महर्जनले चालक तथा यात्रुसँग सामुहिक रूपमा सुरक्षित यात्राका बारेमा जनचेतना दिएका थिए ।

१० वटा जिल्लामा सुरक्षित यात्राका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरीले चेक पोष्टहरुमा कम्तिमा ५ मिनेटभित्र सचेतना दिने, सवारीसाधन अवस्था चेकजाँच गर्ने, प्रहरीप्रति जनताको अपेक्षा तथा सुझावको बारेमा जानकारी लिने, गुनासो सुन्ने, सवारी चालकसँगै यात्रुहरुलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम, सुरक्षा सावधानी सिकाउने लगायतका कुराहरु जानकारी गराउने गर्दछन् ।