कांग्रेसले गठबन्धन गरेन भने पनि हामी रुनेवाला छैनौंः चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गरेन भने पनि आफ्नो पार्टी रुनेवाला नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “हामी जितहारको हिसाबले राजनीति गर्दैनौं । कसको आड लागेर चुनाव जितित्छ भने राष्ट्रिय जनमोर्चा बनेको पनि होइन । चुनाव जितेकाले के के उत्पात गरेका छन् र ? तपाईं पनि अलि बढाइँचढाइँ गर्नुहुन्छ ऋषिजी । कांग्रेसका सबैले गठबन्धन गर्नुपर्दैन भनेका छैनन् । कांग्रेसले गठबन्धन गरेन भने पनि हामी रुनेवाला छैनौं । २०७४ मा एक्लै गएको कांग्रेसले २३ सिटमा खुम्चिएको किन बिर्सिएको हो ?”

केपी ओलीको प्रतिगमनलाई घाटमा पुर्याउनका लागि गठबन्धन बनेको औंल्याउँदै नेता केसीले यसको निरन्तरता आवश्यक रहेको औंल्याए । उनले थपे, “सबै कुरा मिलेर गठबन्धन भएको होइन । गठबन्धन ओलीको प्रतिगमनलाई घाटमा पुर्याउन बनेको हो । यसले प्रतिगमनलाई धुलो चटाएको छ । अहिले पनि ओलीले धुन्धुकारी प्रवृत्ति छाडेका छैनन् । संसद् चल्न दिएका छैनन्, भाँडभैलो गरिरहेका छन् । त्यसैले गठबन्धनको औचित्य सकिएको छैन ।”

उनले अमेरिकाले यहाँका नेताहरुको घोक्रो हात राखेर एमसीसी पास गराउन खोजेको आरोप पनि लगाए । उनले थपे, “अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवामात्र होइन, पहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओली पनि एमसीसी पास गर्न ज्यान फालेर लागेका थिए । चीनविरोधी गठबन्धनमा नेपाललाई सामेल गर्ने षड्यन्त्र हामीले बुझेका छौं । नेपाल राष्ट्र ठूलो हो कि गठबन्धन ? यतिको जनआक्रोश हुँदाहुँदै अमेरिकाले यहाँका नेताहरुको घोक्रोमा हात लगाइरहेको छ । नेपालीको टीठले एमसीसी दिएको होइन ।”
पार्टीले अनिश्चितकालका लागि साढे दुई वर्ष अघि नै किक आउट गरिसकेका व्यक्तिले जनमोर्चा विभाजनको अफवाह फैलाएको आरोप पनि उनले लगाए । नेता केसीले भने, “हामीले उहिल्यै हटाइसकेका व्यक्तिहरु हुन् । गुट बनाउने र कसले मिसाउँछ भनेर च्याँखे थाप्नेहरुका कारण राष्ट्रिय जनमोर्चा कमजोर हुन्छ ? त्यस्तो कल्पना कसैले पनि नगरे हुन्छ ।”