एमालेको चुनावी सभाकाे साइत आज दार्चुलाबाट सुरु

नेकपा एमाले  पार्टिकाे  चुनावी आमसभाकाे साइत आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ ।

त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्ने छन् । ओली बिहीबार नै धनगढी पुगेका  छन् ।

एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको एमाले प्रचार विभाग प्रमुख खड्क बडालले बताए ।

ओली नेतृत्वको सरकारले अढाइ वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो ।

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।

प्रमुख बडालका अनुसार दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुंगिने छ ।