सरकारले स्थानीय तहबाटै नेपाली नागरिकलाई आवश्यक विवरणहरूको आधारमा नागरिकता दिने तयारी गरेको छ ।
सोमवार गृह मन्त्रालयमा गृह सुधार कार्ययोजना २०७८ प्रस्तुत गर्दै गृहसचिव टेकनारायण पाण्डेले व्यक्तिगत विवरण लगायतका विषयलाई सम्बोधन गर्नका लागि वडास्तरबाटै नागरिकता दिने तयारी थालेको बताएका छन् ।
जन्मजात देखिका सम्पूर्ण विवरणहरूको तथ्यांकसहितको विशेष कार्ड उपलब्ध गराएर त्यसैका आधारमा स्थानीय निकायबाट नागरिकता बनाउने तयारीमा अगी बढेकाे बताए । सचिव पाण्डे भन्छन् , ‘हामीले नागरिकतालाई सहज र व्यवस्थित बनाउन कसरी सकिन्छ भन्ने अध्ययन गरेर सबैभन्दा उत्कृष्ट विषयलाई कार्ययोजनामा ल्याएका छौं । ’
‘ खुला सिमानाका कारणले गर्दा नागरिकताकाे बिषय चुनौती पनि छ तर नागरिकता नदिँदा अझ समस्या थपिन्छ, त्यसलाई राष्ट्रिय परिचय पत्रसँग जोडेका छौं,’ प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने ।अहिले वंशजको नागरिकताका समस्याहरू देखिएकाले त्यसलाई सम्बोधन गर्न र तथ्यांक केन्द्रीकृत गरेर केन्द्रबाट पनि निगरानी राख्नको त्यस्तो गर्न लागेको गृह मन्त्रालयले कार्ययोजना मार्फत जनाएको छ ।
कार्यविधि संवाददाता । २४ माघ २०७८, सोमबार १८:१९ बजे