सरुवा भएर आएको ७७ दिन पुग्दा पनि कर्मचारीलाई हाजिर गराएन

सामान्य प्रशासन मन्त्रालयले पाँचौ तहका स्थानीय कर्मचारी सव–इन्जिनियर निलम बुढालाई सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा सरुवा गरेपनि हाजिर गर्न नदिएको ७७ दिन पुगेको छ ।

वीरेन्द्रनगरका मेयर देव कुमार सुवेदीले सरुवा भएर आएका कर्मचारीलाई बजेट र दरबन्दी छैन भन्दै हाजिर गर्न नदिएको बुढाले बताइन् ।
सरुवा गर्दा सहमति दिने अहिले विभिन्न कारण देखाइ हाजिर गराउन सकिन्न भनेर चेतावनी दिएको उनको भनाई छ ।
यस अघि बुढा सुर्खेत जिल्लाकै बराहताल गाउँपालिकामा सव–इन्जिनियर पदमा कार्यरत थिइन् । गाउँपालिकाबाट बुढा गत मंसिर २६ गते सरुवा भएकी थिइन् ।
यस्तै हाजिर गर्न नपाएर ४ स्वास्थ्य सेवाका, २ प्रशासन सेवाका र ३ इन्जिनियर सेवाका सहित नौ नगरपालिकामा आउने र घर जाने गरेको नगरपालिका कर्मचारी स्रोतले जनाएको छ ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत तीन महिनामा तीन जना फेरिएका छन् । हामी स्वास्थ्य सेवाका कर्मचारीले मासिक तलब नखाएको तीन महिना पुगेको नाम नभन्ने शर्तमा एक कार्यरत कर्मचारीले बताए ।

मेयर सुवेदी भन्छन्, ‘वि.स.२०७७ सालमा सामान्य प्रशासन मन्त्रालयलयसँग कर्मचारी माग गरेको हो । अहिले पदपूर्ति भइसकेपछि कर्मचारी आएका हुन्, नगरपालिकामा दरबन्दी छैन । बजेट छैन । त्यसैले हाजिर नगराएको हो ।’