सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका युवा भीम प्रसाद शर्मा (वीपी)ले फिर्ता लिएनन् । शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियाे ।
वैशाख ३० गते हुने स्थानीय चुनावका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा युवा शर्मा (वीपी)ले स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएका थिए ।
१३ वर्षको उमेरदेखि नै मानवीय सेवामा काम गर्दै आएका शर्माले आफुले कुनै पार्टीको प्रतिनिधित्व नगरी स्वतन्त्ररुपमा उम्मेदवारी दिएको र फिर्ता नलिएकाे बताएका छन् ।
उनले आफु चुनावमा विजयी भए प्रमुखरुपमा वीरेन्द्रनगरको शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । वीरेन्द्रनगरका विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका साथै स्वास्थ्य क्षेत्रसहित समग्र वीरन्द्रनगरको विकासका लागि आफुले कार्ययोजना बनाएर काम गर्ने बताएका छन् ।
१२ वर्ष विद्यालय तथा क्याम्पसमा अध्यापन गराएका शर्मा सञ्चारकर्मी पनि हुन् । अहिले उनी रेडक्रस, लायन्स क्लव जस्ता सामाजिक क्षेत्रमा आवद्ध हुँदै आफुले आर्जन गरेको पैशाबाट गरिब विद्यार्थी र अपाङ्गलाई सहयोग गर्दै आएका छन् ।
कार्यविधि संवाददाता । १७ बैशाख २०७९, शनिबार ०४:०५ बजे