प्रहरीले काठमाण्डौ तीनकुनेको ‘स्काई वर्ल्ड सर्भिस सेन्टर’ मा छापा मारेर ३६ जनालाई पक्राउ गरेको छ ।
विभिन्न प्रकारका प्रविधिमार्फत धाकधम्की दिने, व्यक्तिगत गोपनीयता ह्याकिङ गरेर रकमको मोलमोलाइ गर्ने र समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसरले आज साेमवार तीनकुनेको कल सेन्टरमा छापा मारेको हो ।
एक जना चिनियाँ र दुई जना भारतीय नागरिकसहित ३६ जनालाई पक्राउ गरिएको काठमाण्डाै प्रहरी परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
काठमाण्डाै प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले छापा मारेर आठ लाख रुपैयाँभन्दा धेरै नगद, तीन सय ३२ थान ल्यापटप, सात सय ४८ थान डेस्कटप कम्प्युटर र एउटा डीभीआर पनि बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित एक कल सेन्टरबाट १५० जनालाई पक्राउ गरेको थियो। त्यसपछि प्रहरीले काठमाडौंमा पनि छापा मारेको हो।
कार्यविधि संवाददाता । ९ श्रावण २०७९, सोमबार २०:३३ बजे