कुपिण्डे तालमा बेपत्ता भएका बस्नेत २४ घन्टापछि मृत भेटिए

सल्यानको  कुपिण्डेतालमा डुबेर बेपत्ता भएका कपुरकोट गाउँपालिका ६ सिनबाङ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ बस्ने बेदबहादुर बस्नेत झन्डै २४ घन्टापछि मृत अवस्थामा फेला परेका छन् ।

बस्नेत बेपत्ता भएको केही समयपछि मंगलबार साँझदेखि नै  सुर्खेतबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले तालभित्र बेपत्ता भएको स्थानदेखि करिब १५ मिटर पर र करिब ५० मिटर गहिराइमा खोचमा जेलिएको अवस्थामा उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएकाे छ ।

टिकटक बनाउने क्रममा ढुंगाबाट चिप्लिएर खस्दा म‌ंगलबार दिउँसाेदेखी बस्नेत बपत्ता  भएका थिए ।

वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा चिनजान भएका धादिङको खानीगाउँ गाउँपालिका ३ का ३२ वर्षीय मुलबहादुर तामाङलाई लिएर बस्नेत मंगलबार कुपिण्डे ताल घुम्न आएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका  प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

सल्यानको मिनी राराको रुपमा चिनिने बन्गाड कुपिण्डे नगरपालिका ८ मा रहेको छ ।

मृत अवस्थामा भेटिएका बस्नेतको मुचुल्का उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउन थालिएको प्रहरीले जनाएको छ । चारैतिर खुला भएको र उद्धार टोलीसमेत नराखिएको कुपिण्डे तालमा बिगतमा पनि पौडी खेल्ने क्रममा डुबेर केहीको मृत्यु भएको छ।सल्यानको मिनी राराको रुपमा चिनिने बन्गाड कुपिण्डेताल कुपिण्डे नगरपालिका ८ मा रहेको छ ।