गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय भन्दा बढी पराकम्प गएकाे छ ।
गए राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठूला भूकम्प गएका छन् । तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय पराकम्प गइसकेकाे भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले आज दिउँसो २ बजेसम्म दुई सय भन्दा बढी भूकम्पकाे पराकम्प गइसकेको जानकारी दिएका छन् ।
भूकम्पछि पराकम्पनहरु आइरहेकाले सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ । भूकम्पका कारण डोटीको पूर्वीचौकीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण बैतडीमा पनि केही घरहरुमा क्षति पुगेको छ । भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको नगरपालिका कृषि शाखाप्रमुख महेश अवस्थीले जानकारी दिए ।
यस्तै भूकम्पका कारण दशरथचन्द नगरपालिका-१ का विभिन्न स्थानमा घरहरूमा चिरा परेका स्थानीय महेश भट्टले बताए । साथै पाटन नगरपालिकामा रहेको ज्ञानेश्वर माविको भवन पनि चर्किएको विद्यालयले जनाएको छ ।
कार्यविधि संवाददाता । २३ कार्तिक २०७९, बुधबार १४:३७ बजे