आफ्नो खेल–कलाको अनुपम जादु देखाएर फुटबललाई विश्वभर यति धेरै लोकप्रिय बनाउन अद्वितीय भूमिका निर्वाह गरेका पेलेको निधनमा पूरै संसार शोकाकुल छ । फुटबलमा नायकहरू जन्मिरहन्छन्, तापनि सार्वकालिक महत्त्वका महानायकको जन्म विरलै हुन्छ ।
यस्तै बिरलाकोटी प्रतिभा थिए, ब्राजिलका पेले । खासमा उनी कोटीमा एक मात्र होइन, अर्बौंमा एक थिए । फुटबललाई संसारमै सबैभन्दा बढीले बुझ्ने ‘विश्वभाषा’ बनाउन अतुलनीय योगदान दिने अग्रपंक्तिका खेलाडीमध्ये पनि निःसन्देह सबैभन्दा अघि उनी नै थिए । बितेका कैयौं दशकमा संसारको जुनै कुनामा पनि फुटबल र पेले एकअर्काका पर्यायजस्तै रहे । त्यही भएरै, उनको निधनमा यति बेला सारा लोक स्तब्ध छ ।
पेलेले फुटबललाई एउटा सुन्दर लय दिएका थिए । उनी पूरा विश्वका लागि यो खेलका प्रतिनिधि पात्र थिए । यो खेललाई उनले जोस, दृढता र मुस्कानको त्रिवेणी बनाएका थिए । उनले सुन्दरता थपेपछि नै विश्वभर फुटबल अझ सुन्दर खेल बनेको थियो । उनको उदय त्यो समय भएको थियो, जति बेला फुटबलमा अहिलेजस्तो करोडौं डलरको व्यवसाय थिएन । न त यो यत्ति धेरै लोकप्रिय थियो । पेलेले लगाएको सबैभन्दा ठूलो गुनै यही हो, आफ्नो खेल–कौशलकै कारण उनी आम मानिसका मनमनमा फुटबललाई राख्न सफल भए । यही कारण हो— नेपालमै पनि कति मानिस यस्ता छन्, जसले फुटबलबारे न्यूनाधिक जे थाहा पाए पनि पेलेबारे भने केही न केही अवश्य सुनेका छन् ।पेलेले फुटबललाई एउटा सुन्दर लय दिएका थिए ।
उनी पूरा विश्वका लागि यो खेलका प्रतिनिधि पात्र थिए । यो खेललाई उनले जोस, दृढता र मुस्कानको त्रिवेणी बनाएका थिए । उनले सुन्दरता थपेपछि नै विश्वभर फुटबल अझ सुन्दर खेल बनेको थियो । उनको उदय त्यो समय भएको थियो, जति बेला फुटबलमा अहिलेजस्तो करोडौं डलरको व्यवसाय थिएन । न त यो यत्ति धेरै लोकप्रिय थियो । पेलेले लगाएको सबैभन्दा ठूलो गुनै यही हो, आफ्नो खेल–कौशलकै कारण उनी आम मानिसका मनमनमा फुटबललाई राख्न सफल भए । यही कारण हो— नेपालमै पनि कति मानिस यस्ता छन्, जसले फुटबलबारे न्यूनाधिक जे थाहा पाए पनि पेलेबारे भने केही न केही अवश्य सुनेका छन् ।
सन् १९४० मा ब्राजिलको साओ पाओलोमा जन्मेर पेलेका रूपमा चर्चित बनेका एडसन आरन्च डो नासिमेन्टोको पृष्ठभूमि त्यस्तै छ, जस्तो धेरै फुटबल खेलाडीहरूको हुने गर्छ । त्यसमाथि उनी अश्वेत थिए । फुटबलप्रति असाध्यै लगाव रहेको गरिब परिवारमा जन्मेका उनलाई आमाबुबाले नै फुटबलमा प्रवेश गराएका थिए, जसको बेग्लै रोचक कथा छ । सन् १९५० को विश्वकप उपाधिका लागि भएको निर्णायक खेलमा ब्राजिल उरुग्वेसित पराजित हुँदा पूरै देशवासी पीडाले स्तब्ध बने, जसमध्ये एक थिए— उनै पेलेका बुबा । भर्खर १० वर्षका अबोध पेलेले त्यही बेला आफ्ना बुबालाई वचन दिएका थिए, ब्राजिलका लागि आफू ठूलो भएपछि विश्वकप जित्नेछु भनेर । हुन पनि, पेलेले एक पटक होइन, तीन पटक विश्वकप जिते । उनको यो कीर्तिमान विश्व फुटबल इतिहासमा अद्यापि कायमै छ ।
खासमा पेले ‘गोल मेसिन’ जस्तै थिए । खेल्नु मात्र पर्थ्यो, गोल गरिहाल्थे । त्यसैले त आफ्नो खेल जीवनमा उनले १ हजार २ सयभन्दा बढी गोल गरे । उनको खेल आफैंमा कलात्मक थियो, जसलाई हेर्न दर्शकहरू मोहित हुन्थे । त्यसको झल्को अहिले पनि भिडियो रेकर्डहरूमा हेर्न सकिन्छ । सन् १९५३ तिर स्थानीय टिमबाट फुटबल खेल्न सुरु गरेका पेलेले ब्राजिलकै सबैभन्दा ठूलो क्लब सान्तोसमा आबद्ध भएपछि ख्याति कमाउन थालिसकेका थिए । सान्तोसमा आबद्ध भएको एक वर्षमै उनी ब्राजिली राष्ट्रिय टिममा परे, त्यो पनि १७ वर्ष नपुग्दै । त्यसको एक वर्ष बित्दा–नबित्दै सन् १९५८ मा स्विडेनमा भएको विश्वकपमा पेलेले ब्राजिलका लागि खेले र टिम च्याम्पियन पनि भयो । त्यसपछि उनले सन् १९६२ मा चिली र सन् १९७० मा मेक्सिकोमा थप दुई विश्वकप उपाधि जिते । तीमध्ये पनि सन् १९७० लाई पेलेको विश्वकपका रूपमा सम्झिने गरिन्छ, जसमा उनको प्रदर्शन साँच्चिकै अद्भुत थियो । पेले मात्र होइन, त्यस ब्राजिली टिमका सबै खेलाडी उत्कृष्ट थिए । त्यसैले त उक्त खेल टोलीलाई अहिलेसम्मकै सार्वकालिक महान् टिम मानिन्छ ।
आज पनि विश्वकप वा अरू प्रतियोगिता अरू कुनै देशले किन नजितोस्, फुटबलका पर्यायका रूपमा ब्राजिलकै नाम अगाडि आउँछ । र दोहोर्याइरहनु पर्दैन, यसको सबैभन्दा ठूलो श्रेय उनै पेलेलाई नै जान्छ । उनले फुटबल खेल्न सुरु गर्दा ब्राजिलको परिचय भ्रष्ट र तानाशाही शासकले चलाएको एउटा त्यस्तो देशका रूपमा थियो, जहाँ बारम्बार सैनिक ‘कू’ भइरहन्थ्यो । विश्व फुटबलको सफलतासँगै ब्राजिलको उक्त परिचय मात्र बदलिएन, त्यहाँको राजनीतिक संस्कार पनि फेरिन थाल्यो ।
व्यक्तिगत र सार्वजनिक जीवनमा एक भलादमीका रूपमा चिनिएका पेले खेल जीवनपछि मैदानबाहिर पनि उत्तिकै सक्रिय रहे । विश्व भ्रमण गरी सद्भावना तथा शान्ति फैलाउने काम गरे । उत्कृष्टताको अर्को नाम बनेका यी महान् प्रतिभा भौतिक रूपमा अब हामीमाझ छैनन् । तापनि विश्व फुटबलले मात्र होइन, पूरै मानव इतिहासले उनलाई भुल्नेछैन । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले त उनलाई यो शताब्दीकै सबैभन्दा महान् खेलाडी भनेको छ । यस्ता पेलेको महानताको कृति युगयुगसम्म फैलिरहनेछ, सम्पूर्ण खेल र मानवजगत्का लागि उनी एक प्रेरणाका स्रोत बनिरहनेछन् । लगन र अठोटले मानिसलाई कसरी उचाइमा पुर्याउँछ भन्ने सन्देश बाँडिरहनेछन् । यिनै महान् खेलाडीलाई हाम्रो पनि हार्दिक श्रद्धाञ्जली ! कान्तिपुरबाट
कार्यविधि संवाददाता । १७ पुष २०७९, आईतवार ०७:५६ बजे