सरकार विस्तार छलफलकै क्रममा छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकाे लामाे समय वितिसक्ता पनि मन्त्री परिषद्ले पूर्णता पाएकाे छैन् । सत्ता साझेदार दलका रूपमा सरकारमा हाल नेपाली काँग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकाे गठबन्धन छ । तर मुख्यमन्त्री शाहीले सरकारलाई पूर्णता दिने विषयमाभन्दा नियुक्त भएयता हालसम्म सरकारले गरिरहेका कामबारे विवरण पत्रकार सम्मेलनकाे आयोजना गरेर सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले ४० बुदे उपलव्धी सार्वजनिक गरेपछि सरकार विस्तार बारे गठबन्धनमा अलिकति कुरा नमिलेको संकेत गरे । मन्त्री नभएर कुनै पनि मन्त्रालयको काम नरोकिएको स्पष्ट पार्दै मुख्यमन्त्री शाहीले भने, ‘काम भइरहेकाे छ, सचिवज्यूहरुसँग हरेक दिन प्रगति मागिरहेकाे छु कामबारे थप जानकारी लिने भए उहाँहरू यहीँ आउनु भएकाे छ यहीँ बोलाएको छु, सोध्नुहोस् !’

मुख्यमन्त्री शाहीले सरकारलाई पूर्ण बनाउन नसक्नुको कारण नै सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र भएकोजस्तो तर्क दिएका थिए । उनले प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्टको भनाइबारे पनि प्रतिक्रिया जनाए । उनले भने, ‘उहाँ (ठम्मर विष्ट) ज्यूले जुन कुरा बोल्नुभयो । त्योचाहिँ अनभिज्ञता हो । कुन आधारमा भन्नुभयो, त्यो मलाई पनि थाहा भएन । दलीय व्यवस्थामा र गठबन्धनको सरकार भएको बेलामा कुरा मिलाउनुपर्ने हो ।’ विष्टले मुख्यमन्त्री शाहीले लामो समयसम्म मन्त्रीमण्डललाई विस्तार गर्न चासो नदिएको भन्दै खरो प्रतिकृया जनाएका थिए ।

‘मन्त्री नबनाएरै सरकार चलाउने सोचमा हो ?’ भन्ने प्रश्नमा मुख्यमन्त्री शाहीले मिश्रित खालको जवाफ दिए । ‘राजनीतिक नेतृत्व नै पहिलो आवश्यकता हो, दोस्रो त कर्मचारीतन्त्र छँदैछ । तर अहिलेसम्म कुनै फाइल रोखिएको पनि छैन,’ उनले भने । मन्त्रिपरिषदमात्र नभई मुख्यमन्त्री शाहीले आफ्नो सचिवालयलाई नै पूर्णता दिन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

उनले भने, ‘सल्लाहकार नराखेको कुरा राजश्व बचाएको हो, पहिला मन्त्रीमण्डल होस्, त्यसपछि मात्र सचिवालयलाई फुलफिल गर्ने मेरो सोच हो ।’ आफूले राजनीतिक सल्लाहकार लगायत अन्य विज्ञहरुलाई नराखेर प्रदेश सरकारको राजश्व बचाएकोजस्तो लागेको उनको भनाइ छ । उनले बजेट कार्यान्वयनको सन्दर्भमा विगतकोभन्दा तीव्र गतिमा वृद्धि भइरहेको बताए ।