गौरस्थित प्रादेशिक अस्पतालमा उपचार गराउन आएका बिरामीले तिरेको शुल्क कर्मचारी र विकास समितिका अध्यक्षले हिनामिना गरेको खुलेको छ । बिरामीबाट लिइने शुल्क अस्पताल विकास समितिको बैंक खातामा जम्मा नगरी कर्मचारी र समितिका अध्यक्षले चलाएका हुन् ।
गौर अस्पतालमा उपचारका लागि आउने बिरामीबाट रगत परीक्षण, एक्सरे, भिडियो एक्सरे, घाउ जाँच फारमलगायत जाँचमा लाग्ने शुल्क अस्पतालका अहेब प्रमोद यादव र अर्का करारका कर्मचारी असलम अन्सारीले हिनामिना गरेका छन् । यादवले बिरामीबाट २०७९ मसिर १३ गतेदेखि फागुन १५ गतेसम्म चार महिनाको १२ लाख ५२ हजार ५४ रुपैयाँ बुझेका थिए ।
उक्त रकममध्ये ४ लाख ५८ हजार ५ सय बैंकमा दाखिला गरेका छन् । बाँकी ७ लाख ९३ हजार ५ सय ५४ रुपैयाँ अस्पताल विकास समितिको खातामा जम्मा गरिएको छैन । त्यस्तै, अर्का करारका कर्मचारी अन्सारीले सोही समयमा बिरामीबाट लिएको १० लाख ९७ हजार ५ सय ९८ रुपैयाँमध्ये २ लाख ३२ हजार ४ सय ५५ रुपैयाँ मात्र बैंक खातामा जम्मा गरेका छन् । बाँकीको ८ लाख ६५ हजार १ सय ४३ रुपैयाँ आफैंसित राखे ।
उक्त रकम अस्पताल विकास समितिको खातामा जम्मा नभएको जानकारी पाएलगत्तै अस्पतालका तत्कालिन प्रमुख (मेडिकल सुपरिन्टेन्डेन्ट) डा. कृष्ण साहले यादव र अन्सारीलाई रकम जम्मा गर्न निर्देशन दिए । तर, त्यो रकम अझै उनीहरूसँगै छ । डा. साहका अनुसार दुवैले अस्पतालका बिरामीबाट मंसिरयता फागुन १५ गतेसम्म २३ लाख ४९ हजार ६ सय ५२ रुपैयाँमध्ये १६ लाख ५८ हजार ६ सय ९७ रुपैयाँ हिनामिना गरेका भेट्टिएको छ ।
समितिको खातामा दैनिक रकम जम्मा गर्नुपर्नेमा त्यसो किन नगरेको भनेर डा. साहले दुवैसित सोधपुछ गरेका थिए । दुवैले समितिका अध्यक्ष अनवर हासमीले सबै रकम लिएर गएको बताए । अहेव यादवले अस्पतालमा आउने बिरामीबाट उठेको रकममध्ये ४ लाख ४० हजार अध्यक्ष हासमीले जबर्जस्ती मागेर लगेको बताए । ‘दबाब दिएर अस्पतालको रकम लिएर जानुभयो,’ उनले भने, ‘मैले भर्पाइ गराएर मात्र पैसा दिएको छु । यसमा मेरो केही गल्ती छैन । अध्यक्ष आफैंले बैंकमा रकम जम्मा गर्ने भनेर लगेका हुन् । केही रकम मेरो जिम्मामा छ, त्यो छिट्टै खातामा जम्मा गरिदिन्छु ।’ यादव र अन्सारीलाई अस्पताल विकास समितिले नगद काउन्टरको जिम्मेवारी दिएको थियो । कान्तिपुर दैनिकबाट
कार्यविधि संवाददाता । १८ चैत्र २०७९, शनिबार ०९:५६ बजे