शाक्यको राजीनामा, मुख्यमन्त्रीमा पाण्डेको दाबी

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेकी शाक्यले प्रदेश सभा सचिवालयमा विश्वासको मत नपाउने पक्का भएपछि मत विभाजनको बाटो रोज्नुभन्दा मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताइन्।

प्रदेश सभामा उठेका प्रश्नलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजनीतिलाई संस्कारयुक्त कदमको सुरुवात आफूबाट गर्न राजीनामा दिएको बताएकी छन् ।

शाक्यको राजीनामा पछि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशका मुख्यमन्त्री बन्ने भएका छन्। उनको पार्टीसँगै नेपाली काँग्रेस, नेकपा माओवादी लगायत दलको सहभागितामा बागमती प्रदेश सरकार गठन हुने भएको हो ।

शाक्यको विश्वासको प्रस्तावमा आज प्रदेश सभामा मत विभाजन गरिने कार्यतालिका थियो। प्रदेश सभा बैठकमा विश्वासको मत विभाजन गर्न सबै तयारी पूरा भए पनि शाक्यले नयाँ सरकार गठन गर्न बाटो खोलिदिएकी हुन्। ४ कात्तिकमा सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सारेका थिए।

प्रदेश सभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् । विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, काँग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका एक सांसद छन्। त्यसै गरी विवेकशील साझाका तीन, नेपाल किसान मजदुर पार्टी र राप्रपाका दुई जना छन्।

विश्वासको मतका लागि ५५ सांसदको समर्थन चाहिन्छ। शाक्यले विश्वासको मतका लागि आवश्यक सङ्ख्या नपुग्ने भएपछि नयाँ सरकार गठन सहज पार्न राजीनामा दिएको बताएकी छन् ।

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीकारूपमा अगाडि बढाउने निर्णय गरिसकेको छ। बागमती प्रदेशमा एकीकृत समाजवादी र काँग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ।

शाक्य भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन्।