वीरेन्द्रनगर उपत्यकामा एकैपटक २४ जेब्राक्रसको रेखांकन

पुर्वाधार विकास निर्देशनालय सुर्खेत र  जिल्ला ट्राफिक कार्यालय सुर्खेतको समन्वयमा वीरेन्द्रनगर उपत्यकाका एकैपटक २४ स्थानमा पैदल यात्रुले बाटो काट्ने जेब्रा क्रसिङको रेखाङ्कन भएकाे छ ।

जथाभावी सडक क्रस गर्दा दुर्घटनाको सम्भावना बढ्ने र सडक पनि अस्तव्यस्त हुने थालेपछी वीरेन्द्रनगर उपत्यकाभित्र रहेका बजार मुख्य सडकखण्डमा  निर्देशनालयले ठेकेदारमार्फत  जेब्रा क्रसिङको रेखाङ्कन गरिरहेको छ ।

विरेन्द्रनगर नगरपालिका -६ र ७ मा पर्ने कर्णाली प्रदेश राजधानी सहरी सडकको ५७०० मिटर लम्बाई सडक खण्डमा दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागि सडक खण्डका विभिन्न भागमा सडक रेखा र जेब्रा क्रसिङको निर्माण कार्य सम्पन्न भएको पूर्वाधार निर्देशनालयका  निमित्त निर्देशक ई. रामशरण आचार्यले बताएका छन् ।

निमित्त निर्देशक आचार्यले उपत्यकाभरि जेब्रा क्रसिङ पेन्ट गर्ने काम निरन्तर चलिरहने र यो साताभरिमा उपत्यकाका सबै स्थानमा जेब्रा क्रसिङ रेखाङ्कन गरिसक्ने  बताए ।

 “जेब्रा क्रसिङ गर्नुपर्ने २८ ठाउँ मध्ये २४ स्थानकाे काम सकिएकाे ४ स्थानकाे  केही सडकमा जेब्रा क्रसको रेखाङ्कन बाँकी छ ”, आचार्यले  भने, “सवारी र पैदलयात्रुको सहजता र सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ व्यवस्थित गर्न लागेका छौं ।”