सुर्खेतमा सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु

सुर्खेतमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ३० को मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष (०७९/८०)मा जिल्लामा ३१९  सवारीसाधन दुर्घटना हुँदा ३० को मृत्यु भएको छ । दुर्घटनाबाट २२ पुरुष र सात  महिलाको मृत्यु भएको  छ ।

दुर्घटनामा १४२ जना गम्भीर घाइते भएका छन् भने, ४२३ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्यांकमा  छ ।

अघिल्लो आर्थिक वर्षमा १९३ सवारी दुर्घटनामा ३१ को मृत्यु भएको थियो ।

ट्राफिक प्रहरीका अनुसार अघिल्लो वर्षभन्दा गत आवमा २२६ सवारी दुर्घटना बढेका छन् । मृतकको संख्या एकले घटेको छ । मृत्यु हुनेमा पुरुषको संख्या अधिक छ ।

हरेक बर्ष यो तथ्यांक बढ्दै गएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक देबेन्द्र सिंह बुढाथोकीले बताउनु भयाे  ।

सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । गत वर्ष २५९ वटा मोटरसाइकल, ४६ टेम्पाे , ४४ जिप तथा कार,  १९ माइक्राे, १७ बस, १८ ट्रक टेकंर,  १३ ट्याक्टर, ६ टिपर , ४ शास चल्ने र १ अन्य गरी ४२८ सवारी साधन  दुर्घटनामा परेका छन् ।

आर्थिक वर्ष ०७८/०७९ मा १४ हजार ७०२ सवारीसाधनलाई कारवाही गरी १ करोड ९ लाख ११  हजार र ५ सय ३५ मापसे गर्नेबाट ५ लाख ३५ हजार  राजश्व सङ्कलन गरेको थियो ।

कार्यालयले गत आवमा १९  हजार ६ सय ३१  सवारी कारवाही गरी एक  करोड ४७  लाख ६३ हजार ५०० र  १ हजार ५ सय २३  मापसे गर्नेबाट १५ लाख २३ हजार  राजश्व संकलन भएकाे छ ।

हलुका सवारीसाधनको तीव्र गति , बढ्दो सवारीको चाप , मापसे , साँघुरा सडक , यान्त्रिक अवस्था र विमाका कारण दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरी प्रमुख बुढाथोकीले  कार्यविधिलाई बताउनु भयाे ।