समयमै उडान अनुमति नदिँदा बिरामीको ज्यान गयो

बर्दियास्थित बारबर्दिया नगरपालिका-८ कण्ठपुरका ५७ वर्षीय रुपबहादुर रानाभाट एक्कासी बिरामी भएपछि उपचारका लागि शुक्रबार नेपालगन्ज भेरी अस्पताल पुगे । पिसाब रोकिएपछि स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा शनिबार उनलाई थप उपचारका लागि काठमाडांैस्थित मेडिसिटी अस्पताल रेफर भयो । काठमाडौंबाट दैनिक दर्जन बढी उडान हुने नेपालगन्जमा जहाजबाट ढिलो हुने भएपछि परिवार हेलिकोप्टरमार्फत काठमाडौं लिने तयारी गरे र सिम्रिक एयरमार्फत उद्दार गर्ने तयारी भयो । तर, नागरिक उड्डयन प्राधिकरणले तत्काल उद्धारका लागि मागेको अनुमति ढिला दिँदा समयमै बिरामीलाई मेडिसिटी अस्पाताल पुर्‍याउन सकिएन ।

शनिबार साँझ करिब ५ः४४ बजेतिर बिरामीलाई काठमाडौं पुर्‍याइयो । तर दुःखद्, उनको उद्धारमा ढिलाइ हुँदा उनले सदाका लागि संस्कार त्यागेअर्थात उपचारका क्रममा उनको आइतबार मृत्यु भएको छ । पिसाब रोकिँदा रुपबहादुरको शरीरका अन्य भागमा पनि समस्या हुँदै गएको उनका भाइ बामदेवले जनाए । सामान्य अस्वस्थ अवस्थामा दाइलाई स्थानीय स्वस्थ्य चौकीमा लिएको र त्यहाँ उपचार नभएपछि भेरी अस्पतालसम्म पुर्‍याइएको उनी बताउँछन् ।

‘पिसाब रोकिँदा पिसाबमा भएका किटानुले उहाँका कलेजो, फोक्सोलगायत शरीरका सम्वेदनशील भागमा असर पर्दै गएको थियो,’ उनी भन्छन्, ‘उपचारमा जति ढिलो भयो उतिनै दाइलाई समस्या हुँदै गएको थियो ।’ यदी समयमै काठमाडौंको अस्पतालमा पुर्‍याउन सकिएको भए उपचार हुन सक्ने भन्दै उनले भने, ‘समयमै बिरामीलाई उपचार गराउन सकिएन ।’

मागेको समयमा अनुमति पाएको भए बिरामीलाई बचाउन सकिने केही आशा भएको उनी बताउँछन् । सिम्रिक एयरले ६ लाख ४० हजार रुपैयाँ लिने सम्झौता गरेको थियो । त्यसमा छुट्टै ६० हजार रुपैयाँका मेडिकल टिमका लागि खर्च लागेको बताइएको छ । ‘सामान्य बिरामीलाई सात लाख रुपैयाँ खर्च गरेर काठमाडौं लिनु हाम्रो रहर होइन,’ उनी भन्छन्, ‘नागरिक उड्डयन प्राधिकरणले हाम्रो बाध्यता बुझिदिएन ।’ ‘उपचार गर्न जहाज तथा गाडीमा पनि आउन सकिन्थ्यो,’ उनले भने, ‘बिरामीको अवस्था गम्भीर हुँदै गएपछि महँगो पैसा तिरेर काठमाडौं जान अनुमति मागिएको हो । यसमा पनि ढिलाइ गर्ने ।’

यता सिम्रिक एयरले भने अनुमति ढिलो पाउँदा बिरामीलाई समयमै उद्दार गर्न नसकेको बताएको छ । सरकारले बिरामी उद्दारलाई पहिलो प्राथमिकतामा राखेको छ । अन्य उडानसमेत प्रभावित गरेर उद्दारलाई पहिलो प्राथमिकतामा राखे पनि शनिबार नागरिक उड्डयन प्राधिकरणले उद्दारमा गम्भीरता नदेखाएको सिम्रिक एयरको आरोप छ । ‘उद्दारको अनुमति भनेपछि तत्कालै दिनुपर्छ,’ सिम्रिक एयर स्रोतले भन्यो, ‘यो वा त्यो बहानामा उद्दारको अनुमति नदिनु गैरजिम्मेवारीपन हो ।’ हेलिकोप्टरमा होचो अवस्थामा आँखा देख्न सक्ने मौसम भए पनि उडान गर्न सक्ने भन्दै सिम्रिक एयरले भन्यो, ‘हिजो अनुमति मागेको समयमा मौसम त्यतिधेरै बिग्रेको थिएन । अनुमति पाएको भए समयमै उद्दार गर्न सकिन्थ्यो ।’ सिम्रिक एयरका अनुसार शनिबार बिहान ९ः४० मा अनुमति मागिएको छ । ‘१०ः२४ मा आवश्यक कागजात माग भएको थियो,’ सिम्रिक एयर स्रोतले भन्यो, ‘त्यसपछि १०ः४० मा अनुमति आयो ।’ आवश्यक कागजात पुर्‍याउँदापुर्‍याउँदै १०ः५२ मा उद्दारका लागि काठमाडौंबाट नेपालगन्जका लागि हेलिकोप्टर उडेको थियो ।

भरतपुरको स्थानीय मौसम बिग्रिएपछि काठमाडौंबाट उडेको हेलिकोप्टर भरतपुरमा रोकिएको थियो । भरतपुरमा झन्डै एक घण्टा रोकिएको थियो । स्थानीय मौसम बेलाबेला बिग्रिँदा उक्त हेलिकोप्टर नेपालगन्जबाट बिरामी लिएर ५ः४४ मा काठमाडौं पुगेको थियो । जल तथा पूर्वानुमान शाखाका अनुसार शनिबार बिहान ९ः२५ सम्म काठमाडौंमा हल्का वर्षा भएको थियो । उक्त वर्षामा उडान भर्न सकिने सिम्रिक एयरको दाबी छ । जटिलखालका बिरामीको उद्दारमा अनुमति ढिलो हुँदा पश्चिम दुर्गमका बिरामीको उपचारमा समस्या हुने यहाँका स्थानीय बताउँछन् । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले तत्काल उडानका लागि अनुमति दिएको दाबी गरेका छन् ।
source: nagariknews