वीरेन्द्रनगरमा बढ्दाे अनियमितता

सुर्खेतकाे नाैं स्थानिय पालिकामध्ये  वीरेन्द्रनगर नगर कार्यपालिकाविरुद्ध सबैभन्दा धेरै उजुरी परेकाे अख्तियार आयाेग सुर्खेतले जनाएकाे छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गाैतमका अनुसार चालु आर्थिक वर्षकाे छ महिनामा वीरेन्द्रनगर नगर कार्यपालिकाविरुद्ध हुने गरेका अनियमितता र भ्रष्टाचारका विषयलाई लिएर ३९ उजुरी दर्ता भएका छन् ।

नगर कार्यपालिकामध्ये भेरीगंगामा ३६, गुर्भाकाेटमा २३ , लेकवेसी १० र पञ्चपुरीमा १९ वटा अनियमितता सम्बन्धी उजुरी आयाेगमा परेका छन् ।

त्यस्तै,गाउँ कार्यपालिकामध्ये चाैकुनेमा १८ ,बराहतालमा १२, चिङ्गाडमा चार र सिम्तामा १० उजुरी परेका छन् ।

कर्णालीका प्रदेशका स्थानिय निकायमा उपभाेक्ता गठन , जनश्रमदानकाे रकम कट्टा नगरी भुक्तानी, झुटा बिलबीजक पेस गर्ने , आवश्यक कार्यविधि तथा मापदण्ड तयार नगर्ने गरेकाे भए पनि पालना नगर्ने , पार्टिगत पहुँचका आधारमा निर्णय तहका नातेदार उपभाेक्ता समुह बनाउने जस्ता विषयमा सुर्खेत अख्तियारमा उजुरी बढ्दाे रहेकाे छ ।

पछिल्लो समय सबै तहमा भ्रष्टचार बढेको गुनासो र उजुरी तथ्यकाे आधारमा भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्धन गर्न जिल्ला स्तरिय अन्तरक्रिया , रेडियाे कार्यक्रम र विद्यालयगत भ्रष्टाचार नियन्त्रण सम्बन्धी विविध कार्यक्रम गरीएको अख्तियार सुर्खेतका अधिकारी गाैतमले  बताए ।