आज आइतबार (फागुन १३ गते) देखि दादुरा रुबेलाविरुद्धको खोप अभियान देशभर सञ्चालन हुदैँ छ ।
चैत ७ गतेसम्म सञ्चालन हुने अभियानमा सरकारले ५७ लाख बढीलाई खोप लगाउने उद्देश्य लिएको छ ।
सरकारले सन् २०२३ सम्म दादुरा–रुवेलालाई सून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखिए पनि सरकारको यो लक्ष्य पुरा हुन नसकेपछि दोस्रो पटक सन् २०२६ सम्म दादुरा–रुवेलालाई सून्यमा झार्ने लक्ष्य लिएको छ।
संघीय सरकारको निर्धारित कार्यक्रम ‘खोप अभियान’ अनुसार दादुरा रुबेलाको बढी संक्रमण भेटिएको २४ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मकालाई दादुरा-रुबेलाको खोप लगाइने छ भने अन्य ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने भएको हो ।
भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका बालबालिकालाई भने दादुरा रुबेला सम्बन्धी खोप लगाइसकेको बाल स्वास्थ्य तथा खोप महा शाखाले जनाएकाे छ ।
खाेप महाशाखाका अनुसार ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा-रुबेलासँगै पीसीभी, आइपीभी, डीपीटी-हेप वी.हिव लगायतका खोप लगाइनेछ ।
खोप अभियानका लागि देशभर ४० हजार खोप केन्द्र सञ्चालन गरिने छ भने कतिपय ठाउँमा विद्यालय, स्वास्थ्य संस्थामा पनि खोप लगाइने छ । यसका लागि देशभरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रयोग गरिनेछ भने ३० हजार बढी स्वास्थ्यकर्मी परिचालन गरिने खोप शाखाले जनाएको छ ।
यो अभियानका लागि १ अर्ब ३५ करोड रुपैयाँ लागत लाग्ने छ भने ६३ लाख मात्रा खोप सबै जिल्लामा वितरण गरिसकेको जनाइएको छ ।
खोप लगाइसकेपछि बालबालिकाहरूका विभिन्न रोगहरु नियन्त्रण गरी बाल मृत्युदर र अपाङ्गता घटाउने उद्देश्यले सरकारले विभिन्न प्रकारका खोप अभियानहरु सञ्चालन गर्दै आएको छ।
कार्यविधि संवाददाता । १३ फाल्गुन २०८०, आईतवार ०६:४१ बजे