गण्डकीमा विश्वासको मत लिंदै मुख्यमन्त्री : राप्रपाले विश्वासको मत नदिने

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन्।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार २४ गतेसम्म विश्वासको मत लिनैपर्ने छ। अधिकारीले राप्रपालाई समेत सरकारमा ल्याएर बहुमत पुर्‍याउने कसरत गरिरहेको भए पनि राप्रपाले विश्वासको मत नदिने बताइरहेको छ।

राप्रपाले साथ नदिए एमालेका २२, माओवादीका ७ र राजीव गुरुङ (दीपक मनाङे)सहित ३० पुग्ने र सभामुखलाई अलग राख्दा ५९ सदस्यमध्ये ३० संख्यालाई सभामुखकै अप्रत्यक्ष समर्थनमा बहुमत घोषणा गर्ने अन्तिम विकल्प हुन सक्ने गठबन्धनको धारणा छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।