नियम मिचेर दिइयो राहतलाई विद्यालयकाे निमित्त प्रअ, योग्य शिक्षककाे बेवास्ता

सामुदायिक एक विद्यालयमा प्रधानाध्यापकको योग्यता पुगेका स्थायी शिक्षक नै ११ जना हुँदाहुँदै  नियम मिचेर निमित्त प्रअ राहतलाई दिएर योग्य शिक्षककाे बेवास्ता गरिएकाे छ ।

तारकेश्वर नगरपालिका–७ स्थित फुटुङ माविमा राहत शिक्षकले नियमविपरीत एक महिनादेखि निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका छन्।

विद्यालयका  प्रधानाध्यापक भगीरथ उपाध्याय अनिवार्य अवकाशमा गएपछि विद्यालय व्यवस्थापन समितिले राहत शिक्षक हरिकृष्ण खत्रीलाई फागुन ३ गतेदेखि उक्त जिम्मेवारी दिएको हो।

शिक्षा नियमावली २०५९ विपरीत भएको भन्दै तारकेश्वर सामुदायिक विद्यालयका शिक्षकले मेयर कृष्णहरि महर्जनको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको एक शिक्षकले  बताए।

‘हामीले मेयरलाई भेटी गुनासो गर्दा गलत भयो भनेर सच्याउने मौखिक प्रतिबद्धता जाहेर गरेको पनि हो। तर, सुनुवाइ भएन’, समितिमा आबद्ध  शिक्षक भन्छन् ।’

राहतलाई कामचलाउका लागि जिम्मेवारी दिइएको प्रतिक्रिया व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष सानुकाजी खत्रीले दिए।

‘केही दिनका लागि हो, मात्र  हो। कामचलाउ मात्रै हो। जिम्मेवारी नियमानुसार पाउनेलाई दिइन्छ’, उनले  भने। नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमबहादुर खत्रीले यसलाई सच्याइने बताएका छन्।

‘वरिष्ठलाई दिनुपर्ने हो। तर, व्यवस्थापन समितिले अस्थायी रूपमा अर्कोलाई जिम्मेवारी दिएछ। त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ। यसलाई सच्याइनेछ’, उनले भने।