राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक नगर्ने भएकाे छ ।
भोली (बिहीबार) बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए ।
गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्न लागेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ ।
उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।
कार्यविधि संवाददाता । १२ असार २०८१, बुधबार १६:५५ बजे