आज हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो ।

त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ।

आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ।

आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, साँस्कृतिक र वैज्ञानिक रुपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।

वैदिक सनातन सँस्कारमा तुलसी पूजाको ठूलो महत्त्व छ । हजारौँ वर्षदेखि सनातन सँस्कारीहरु प्रातःकालमा नै उठेर तुलसीमा पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिकीमा लागेको पाइन्छ ।

वैदिक सनातनमा तुलसीको महत्त्व प्रत्येक विशेष उत्सव वा कुनै धार्मिक कार्यमा पनि रहँदै आएको छ । मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा नै किन नहोस्, सनातनी सँस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ, यसको महत्त्व रहेको छ ।

हिन्दू धर्मालम्बीहरुले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ । तुलसीको पातको पनि विशेष महत्त्व रहेको छ । अनि तुलसीको डाँठबाट बन्ने मालालाई त निकै पवित्र मानिन्छ ।