Skip to content
शनिबार दिउँसाे त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स गाडी खोज्न प्रयोग गरिएको १९ केजीको चुम्बक हराएको छ ।
खोज्ने क्रममा चुम्बक त्रिशूलीमा हराएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए ।
भारतबाट १४ र १९ किलोको दुईवटा चुम्बक ल्याएर खोजी गरिएको थियो । तीमध्ये १९ किलोको चुम्बक हराएको प्रहरी स्रोतले जानकारी दिएको छ । चुम्बकसँगै लाइफ ब्वाई ट्युब पनि पानीले बगाएको छ ।
खोजीमा जुटेका नेपालका एक सुरक्षा अधिकारीले पानीको तीब्र प्रवाहका कारणले चुम्बक हराउनु सामान्य कुरा भएको बताए । उनले भने, ‘९/९ टनका बस नदीमा हराएका छन्, १९ किलोको चुम्बक हराउनु कुन ठूलो कुरा भयो र ?’
शनिबार साझँ चितवनको भरतपुर महानगरपालिका–२९ स्थित केराबारीमा बसजस्तै आकृतिको बस्तु देखिएको तर, गोताखोर पुगेर हेर्दा बस नभएको पुष्टि भएको छ । त्रिशूलीको बिच भागमा देखिएको बस्तु बस नभएको डीआईजी केसीले जानकारी दिए । उनले भने– ‘स्थानीयले बस हुनसक्ने भनेर खबर गरेका थिए तर, त्यो पुष्टि भएन ।’
असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स हालसम्म बेपत्ता छन् । दुवै बस त्रिशूलीमा खसेका थिए । बसमा सवार २५ जनाको शव भेटिएको छ ।
कार्यविधि संवाददाता । ११ श्रावण २०८१, शनिबार २१:४७ बजे