घटस्थापनासहित जमरा राखी बडादसैँ सुरु

नेपालीहरुको महान चाड दशै आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्‍विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्‍भ भएको हो।

बडा दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गा देवीको आव्हान गरी पूजा आरम्भ गरिन्छ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।आज   बिहान ०९ः१६ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा जौँ रोपेर जमरा राखेपछि आजदेखि नेपालीको महान् पर्व बडादसैँ सुुरु भएको हो ।