Skip to content

प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार सुर्खेत आउँदै छन्।
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आउन लागेका प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री ओली आज बिहान ११ बजे सुर्खेत आइपुग्ने कार्यक्रम छ ।
सुर्खेत विमानस्थलबाट प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन् । दीक्षान्त समारोह उपसमितिका संयोजक सहप्राध्यापक डा. लिलाधर तिवारीका अनुसार प्रधानमन्त्री ओली साढे ११ बजे विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा हुने दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नेछन् ।
सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको समेत उपस्थिति रहने दीक्षान्त समारोहमा भारतको सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक एवम् जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. महेन्द्र पी. लामाको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।
दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट तीन वर्षको ब्याजका तीन जनालाई कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका तीन जनालाई उपकुलपति पदक, डीन लिष्टमा परेका स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जनाले प्रमाणपत्रसहित पदक पाउने छन् । दीक्षान्त समारोहमा तीन हजार ८४१ जना विद्यार्थीहरू दीक्षित हुनेछन् ।
दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्य तालिका छ ।
प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार साढे दुई बजे प्रदेशसभामा मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीको स्वागत गर्नेछन् । लगत्तै प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुनेछ ।
‘प्रधानमन्त्रीज्यूले सम्बोधन गरेपछि प्रदेशसभाले उहाँलाई धन्यवाद ज्ञापन गर्नेछ,’ प्रदेशसभा सचिव बुढाथोकीले भने, ‘त्यसपछि प्रदेशसभाको शुक्रबारको बैठक सम्पन्न हुनेछ ।’
प्रदेशसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्नेछन् ।
तीन वर्षअघिनै निर्माण सम्पन्न भएर पठन–पाठन भइरहेको भवन प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् ।
सानो सुर्खेतमा रहेको इन्जिनियरिङ भवनको उद्घाटनपछि प्रधानमन्त्री ओली कर्णाली प्रदेश सरकारको गौरवको योजना कर्णाली रङ्गशालाको निरीक्षण गर्नेछन् । र आज साँझ नै काठमाडाैं फर्किने छन् ।
कार्यविधि संवाददाता । २२ फाल्गुन २०८१, शुक्रबार ०५:२४ बजे