कालीकोट — सुर्खेतबाट कालीकोटको नरहरिनाथ-३ डाडामाडु जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको गाडी मंगलबार साँझ ५:४० बजे नरहरिनाथ-३, कुमालगाउँस्थित इलाका प्रहरी कार्यालय कुमालगाउँ पछाडि झन्डै २० मिटर तल खसेको हो । दुर्घटनामा गाडी चालकसहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भई खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए । दुर्घटनामा गाडी क्षतिग्रस्त भएको छ ।
दुर्घटनामा नरहरिनाथ-३, का २० वर्षीय राजेन्द्र विष्ट, २९ वर्षीय अनिलकुमार बुढा, नरहरिनाथ-५, रुप्साकी ४० वर्षीयादेवी सहकारी, नरहरिनाथ-३ का ३५ वर्षीया विष्णु विष्ट, ४० वर्षीय दानबहादुर सहकारी, २८ वर्षीय गणेश आचार्य र ३५ वर्षीय अम्मरबहादुर विष्ट र दैलेख घर भएका २४ वर्षीय चालक जगत बिक घाइते छन् । उनीहरूको कुमालगाउँस्थित योगी नरहरिनाथ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
कार्यविधि संवाददाता । ११ चैत्र २०८१, मंगलवार १२:३२ बजे