जिल्ला प्रशासन कार्यालय सुर्खेतले आइतवार देखि ‘टाइम कार्ड’ लागु गर्ने तयारी

जिल्ला प्रशासन कार्यालय सुर्खेतले आगामी आइतवार देखी सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने तयारी गरेकाे छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गर्ने थालिएकाे हो।

कार्यालयले छिटो, छरितो र प्रभावकारी सेवा  दिइरहेकाे छ । अझ थप सेवा प्रभावकारी बनाउँन  प्रशासन कार्यालयले नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई–पासपोर्ट लगायत विभिन्न  सेवामा त्यस्तो टाइम कार्ड शुरु गर्ने प्रमुख जिल्ला अधिकारी  खगेन्द्रप्रसाद रिजालले बताउनु भएकाे  छ ।

 ‘अहिले पनि बडापत्रमा लेखिएअनुसार सोही दिन नै सेवा दिइरहेका छाैँ ’, उनले भने, ’तर, यसले कति घण्टा प्रतिक्षा गर्नुपर्ने भन्नेमा सेवाग्राही अन्योलमा परेकाले टाइम कार्ड लागू गर्न थालेका  हौँ ।’

उक्त कार्डको लागूपश्चात् कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने तयारी गरिएको  सिडिओ रिजालले  जानकारी दिनु भयाे  । टाइम कार्ड लागू भएपछि सेवाग्राहीले एउटा निश्चित समय पाउने र सो समयसम्म उसले अन्य काम पनि भ्याउन सक्ने उहाँकाे  भनाइ छ ।

उहाँका  अनुसार सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा ‘हेल्प डेस्क’ राखिएको छ। जहाँबाट आवश्यक कागजपत्र पूरा भए नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाउने  गरिन्छ। कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइनेछ।

टाइम कार्ड लागू भएपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय सीमा सहितको एउटा टोकन वितरण गरिन्छ । जसमा सेवाग्राहीले सेवा पाउने समय र विभिन्न  शाखाकाे कोठा नम्बर लेखिएको हुन्छ ।

नागरिकता प्रतिलिपिको हकमा प्रमाण पुर्याएर पेस भएका निवेदकलाई अभिलेख भिडेको एक घण्टाभित्र प्रतिलिपि दिइने छ भने अनलाइन फारम भरेर राष्ट्रिय परिचयपत्रका लागि आएका निवेदकले पनि एक घण्टाभित्रै सेवा पाउने छन् ।

त्यस्तै, ई–पासपोर्टका लागि आउने सेवाग्राहीले प्रि–इनरोलमेन्टको फारम भरेर आएमा तोकिएकै दिन र समयमै इनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई–पासपोर्ट टोकन प्रणालीअनुसार सोही दिन समय तोकेर वितरण गरिने छ ।  प्रमुख जिल्ला अधिकारी रिजालले  गर्भवती महिला, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई टाइम कार्डको आवश्यकता नपर्ने बताए छन् ।

उहाँले यस्ता सेवाग्राहीको हकमा सेवाग्राहीले सोझै फाँटमा तोकिएका कर्मचारीलाई भेटेर सेवा लिन सक्ने स्पष्ट पारे । साथै, संचार प्रविधिले साथ दिएसम्म आगामी आइतवार देखि कार्यालयले दैनिक एक सयभन्दा बढी नयाँ नागरिकता, ८० भन्दाबढी प्रतिलिपि, दुई सयभन्दा बढी राष्ट्रिय परिचयपत्र र दुई सय ५० भन्दा बढी ई–पासपोर्ट वितरण गर्ने तयारी  गरेको जानकारी पनि दिनु भएकाे छ   ।