काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसदमा अवरोध कायमै रहने विपक्षी दलका नेताहरुले बताएका छन् ।
विपक्षी दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी सहितका दलहरूले बुधबार पनि संसदमा अवरोध गरेका थिए । उनीहरूले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग राख्दै आएका छन् । यही माग राख्दै विपक्षी दलहरुले बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध पारेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने संसदमा जवाफ दिन्न भनेर सार्वजनिक अभिव्यक्ति दिएकाले संसदको अवरोध तत्काल नखुल्ने देखिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सचेतक रुपासोशी चौधरी भन्छिन्, ‘हामीले काबिल कर्मचारी किन हटाएको भनेर सोधेका हौं । सदनमा आएर जवाफ दिए भइहाल्छ । अन्यथा, प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्दैन ।’
‘प्रधानमन्त्रीले सार्वजनिक रुपमा बाटोमा जवाफ दिँदै हिड्नु भएको छ । त्यही कुरा सदनमा गरे भइहाल्यो । जवाफ दिनुपर्ने ठाउँ सदन हो सार्वजनिक बाटो होइन । यो बोध प्रधानमन्त्रीलाई हुनुपर्छ’, माओवादी सचेतक चौधरी भन्छिन्, ‘हामी प्रधानमन्त्रीलाई जवाफ दिने ठाउँ कुन हो भनेर बोध गराउन खोज्दैछौं ।’
सभामुख देवराज घिमिरे भने सहजरुपमा संसद सन्चालनको प्रयासमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफलमा छन् ।
कार्यविधि संवाददाता । १३ चैत्र २०८१, बिहीबार १२:३८ बजे