हुम्ला । हिमाली जिल्ला हुम्लामा वनजडिबुटीको व्यवस्थित व्यवस्थापनका लागि पाँचवर्षीय कार्ययोजना निर्माण हुने भएपछि स्थानीय व्यवसायीहरूमा उत्साह बढेको छ । यसअघि स्पष्ट कार्ययोजना नहुँदा संकलित जडिबुटी निकासी गर्न अन्य जिल्लाबाट अनुमति लिनुपर्ने बाध्यता थियो, जसले गर्दा धेरै जडिबुटी बिग्रने समस्या समेत देखिएको थियो ।
डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाईका अनुसार आगामी वैशाखको अन्तिम सातासम्म कार्ययोजना तयार पारिनेछ । यसका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । योजना कार्यान्वयनमा आएपछि नयाँ आर्थिक वर्षदेखि जडिबुटी निकासी प्रक्रिया सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
कार्ययोजनाअनुसार जटामासी जस्तो प्रमुख जडिबुटीको वार्षिक करिब ३ लाख ४० हजार केजीसम्म निकासीको व्यवस्था गरिनेछ । साथै, ५० भन्दा बढी अन्य जडिबुटीको निकासीसमेत व्यवस्थापन गरिने जनाइएको छ । जडिबुटी व्यवसायी संघ हुम्लाका अध्यक्ष राजबहादुर शाहीले योजना कार्यान्वयनपछि व्यवसाय सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गरे । यसैबीच, योजना निर्माणको जिम्मा पाएको नेचुरल रिसोर्सेस एन्ड इन्भारोमेन्टल म्यानेजमेन्ट सेन्टर प्रालिले सरोकारवालासँग राय र सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा प्राविधिक डा. नागेन्द्र यादवको टोली पनि सहभागी भएको थियो । व्यवसायी छिरिङ लामाका अनुसार यस वर्ष जटामासी र कुट्की निकासीका लागि आवश्यक अनुमति नपाउँदा छिमेकी जिल्लाबाट कागजात मिलाउनुपरेको थियो । यस प्रक्रियाले करिब ५० देखि ६० क्विन्टल जडिबुटी सुरक्षित रूपमा निकासी गर्न कठिनाइ भएको र धेरै व्यवसायीले आर्थिक नोक्सानी व्यहोर्नुपरेको गुनासो गरेका छन् ।



कार्यविधि संवाददाता । १८ चैत्र २०८२, बुधबार ११:२७ बजे