एसईईलाई ध्यानमा राख्दै ‘कर्णाली समृद्धि महोत्सव स्थगित

सुर्खेत ।  वीरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘कर्णाली समृद्धि महोत्सव–२०८२’ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई प्राथमिकतामा राख्दै साङ्गीतिक कार्यक्रमहरू अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सुर्खेत र अभ्यान्ता मल्टिप्रपोज कम्पनीको संयुक्त आयोजनामा भइरहेको महोत्सवले चैत्र २० गतेदेखि चैत्र २६ गते बिहान ११:३० बजेसम्मका लागि सबै साङ्गीतिक प्रस्तुति रोकेको जनाएको हो ।

महोत्सव आयोजक समितिका अध्यक्ष कविराज गिरी र सञ्चालक राजकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा परीक्षा अवधिमा विद्यार्थीलाई शान्त वातावरण उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ । आयोजकका अनुसार एसईईजस्तो संवेदनशील परीक्षाका बेला ध्वनि प्रदूषणले विद्यार्थीको एकाग्रतामा असर पार्न सक्ने भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै कार्यक्रम स्थगित गरिएको हो । साङ्गीतिक कार्यक्रमहरू रोकिए पनि महोत्सवका अन्य गतिविधि भने पूर्ण रूपमा बन्द गरिएका छैनन् । व्यापारिक स्टल, होटल तथा बाल उद्यानजस्ता सेवाहरू सीमित रूपमा सञ्चालनमा रहनेछन् । साथै, वीरेन्द्रनगर नगरपालिका वडा नं. १ सँगको समन्वयमा सो अवधिभर ध्वनि विस्तारक उपकरण प्रयोगमा पूर्ण रोक लगाइएको छ ।

आयोजकले यस अवधिमा महोत्सव प्रवेश निःशुल्क गरिएको जनाएको छ । यसले स्थानीय उपभोक्ताहरूलाई बिना अवरोध व्यापारिक स्टलसम्म पुग्न सहज बनाउने अपेक्षा गरिएको छ। चैत्र २६ गते बिहानपछि भने महोत्सव पुनः पुरानै लयमा फर्किनेछ । सोही दिन दिउँसो ११:३० बजेदेखि राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति सुरु हुने र प्रवेश शुल्कसमेत यथावत् लाग्ने आयोजकले जानकारी दिएका छन् ।

चैत्र ११ गतेदेखि सुरु भएको महोत्सवको समापन प्रारम्भमा चैत्र २२ गतेका लागि तय गरिएको भए पनि साङ्गीतिक कार्यक्रम रोकिएको समयलाई मध्यनजर गर्दै अवधि केही दिन थप हुन सक्ने देखिएको छ । यस निर्णयले मनोरञ्जन र व्यापारभन्दा माथि उठेर विद्यार्थीको भविष्य र सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिएको सन्देश दिएको छ ।