कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारीहरूले पदभार ग्रहण

सुर्खेत  ।  कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । परिषद्का सदस्य सचिव रवीन्द्र चन्दले मंगलबार पदभार ग्रहण गरे भने उपाध्यक्ष र अन्य सदस्यहरूले बुधबार पदभार ग्रहण गरेका हुन् । परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य पंखबहादुर मल्ल, भीमाकुमारी भुसाल, गोर्खबहादुर शाही, किरण किशोर सापकोटा र पवनकुमार थापाले पदभार ग्रहण गरेका छन् । यससँगै परिषद्का सबै मुख्य पदाधिकारीहरू आफ्नो जिम्मेवारी सम्हाल्दै आगामी योजना र कार्यक्रम सञ्चालनमा जुट्ने तयारीमा छन् ।

गत चैत १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रवीन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवका रूपमा नियुक्त गरेको थियो । यसअघि २०८१ पुसदेखि रिक्त रहेको सदस्य सचिव पदमा अब चन्दले काम सुरु गरेका छन् । नवनियुक्त सदस्य सचिव रवीन्द्र चन्दले पदभार ग्रहण गर्दै खेलकुदको विकास, युवाहरूमाझ खेलप्रति रुचि बढाउने र प्रदेशका खेल संरचना सुदृढ पार्ने आफ्नो प्राथमिकतामा जोड दिएका छन् । उनले परिषद्का सबै सदस्यसँग समन्वय गर्दै आगामी खेलकुद कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपाध्यक्ष प्रमोद हमालले पनि परिषद्का रणनीतिक योजना तथा आयोजनाहरूको प्रभावकारी कार्यान्वयनमा सबै सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे  । नयाँ सदस्यहरूले पदभार ग्रहणसँगै प्रदेशभित्रका विभिन्न खेलकुद गतिविधि, प्रतियोगिता र खेलकुद पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ । कर्णाली प्रदेश खेलकुद परिषद्का पदाधिकारीहरूको नियुक्ति र पदभार ग्रहणले प्रदेशको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थप्ने, युवा प्रतिभा पहिचान र विकासका कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने विश्वास गरिएको छ ।