भूकम्प प्रभावित विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण

जाजरकाेट ।  भूकम्पबाट प्रभावित सल्यानका विभिन्न क्षेत्रमा पूर्वाधार विकास कार्यालयले विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न गरेको छ । करिब तीन करोड रुपैयाँको लागतमा चार वटा विद्यालय र दुई वटा स्वास्थ्य संस्था पुनःनिर्माण गरिएका हुन् । कार्यालयका प्रमुख इन्जिनियर नवीन थापाका अनुसार दार्मा गाउँपालिका–५ स्थित अन्धनाशक आधारभूत विद्यालय, दार्मा–४ को लाखुरीडाँडास्थित कालिका आधारभूत विद्यालय, शारदा नगरपालिका–८ तल्लो मार्केको जनकल्याण आधारभूत विद्यालय तथा सिद्धकुमाख गाउँपालिका–४ को सागिने विद्यालय पुनर्निर्माण गरिएको छ ।

नयाँ संरचना निर्माण भएसँगै स्थानीय तहमा शिक्षा सेवा सञ्चालन सहज भएको छ । कालिका आधारभूत विद्यालयका शिक्षक कृष्ण बस्नेतले भूकम्पपछि जीर्ण बनेको भवनका कारण पठनपाठन प्रभावित भएको उल्लेख गर्दै नयाँ भवन निर्माणले कक्षा सञ्चालन सहज भएको बताए । त्यस्तै, कुमाख गाउँपालिकाको गुरुदासे स्वास्थ्य एकाइ र बागचौर नगरपालिकाको सोटागार स्वास्थ्य सेवा केन्द्र पनि पुनर्निर्माण गरिएको छ। पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सिद्धार्थ मिश्रका अनुसार भूकम्पबाट क्षतिग्रस्त संरचनालाई प्राथमिकतामा राख्दै तीव्र गतिमा पुनर्निर्माण कार्य सम्पन्न गरिएको हो । स्थानीयलाई तत्काल सेवा उपलब्ध गराउने लक्ष्यसहित शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको उनले बताए ।

भूकम्पपछि पुनर्निर्माण गरिएका संरचनाले स्थानीय बासिन्दालाई सेवा लिन सहज बनाएको छ । कार्यालयले आगामी दिनमा पनि प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार पुनर्स्थापना गर्दै सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ । जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार २०८० कात्तिक १७ गते राति गएको जाजरकोट भूकम्पले सल्यानमा चार हजार ३६४ घरमा क्षति पुर्‍याएको थियो । तीमध्ये सबैभन्दा बढी दार्मा गाउँपालिकामा चार हजार ८१ घर प्रभावित भएका थिए । साथै बागचौर नगरपालिकामा १५४, कुमाख गाउँपालिकामा १२४ र त्रिवेणी गाउँपालिकामा १२ घरमा क्षति पुगेको तथ्याङ्क रहेको छ ।