हुम्ला । हुम्लास्थित सामाजिक विकास कार्यालयले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले एउटै कार्यकक्षबाट एकीकृत सेवा दिन सुरु गरेको छ । पहिले सेवाग्राहीहरूले सेवा लिन कार्यालयका चार वटा फरक–फरक शाखामा धाउनुपर्ने बाध्यता थियो । कागजात वा प्रक्रिया नमिलेमा पुनः सम्बन्धित शाखामा जानुपर्ने झन्झटका कारण समय र खर्च दुवै बढ्ने गरेको थियो । यस समस्यालाई समाधान गर्न कार्यालयले नयाँ व्यवस्था लागू गरेको हो । कार्यालय प्रमुख ईश्वरबहादुर सिंहका अनुसार अब सेवाग्राहीले एउटै कोठाबाट सबै सेवा पाउने व्यवस्था मिलाइएको छ । उक्त कार्यकक्षमा कार्यालय प्रमुखसहित प्रशासन, योजना र लेखा शाखाका कर्मचारीहरू एकै ठाउँमा बसेर सेवा प्रदान गरिरहेका छन् ।
पहिले सेवाग्राहीले कागजातमा तोक लगाउन प्रमुखको कार्यकक्ष, त्यसपछि दर्ता शाखा, योजना शाखा र अन्तमा लेखा शाखा धाउनुपर्ने अवस्था थियो सिंहले भने अब एउटै ठाउँबाट सेवा दिँदा कागजात नमिले तत्काल थाहा हुने र सुधार गर्न सजिलो भएको छ । नयाँ व्यवस्थाले सेवाग्राहीलाई अनावश्यक झन्झटबाट मुक्त गर्नुका साथै समय र खर्च बचत गर्न मद्दत पुगेको कार्यालयले जनाएको छ । कर्मचारीहरूको सुझावका आधारमा यो सेवा सुरु गरिएको हो ।
कार्यालयले बिहीबार मात्रै १० जना सेवाग्राहीलाई एउटै कार्यकक्षबाट सेवा प्रदान गरेको जनाएको छ । पहिलोपटक सेवा लिन आएका खार्पुनाथ गाउँपालिका–४ का नन्दबहादुर शाहीले छोटो समयमा सेवा पाएको अनुभव सुनाए । धरौटी फिर्ता लिन आएको थिएँ, दश मिनेटमै काम सकियो,उनले भने टाढाका बस्तीबाट आउने सेवाग्राहीका लागि यो व्यवस्था निकै उपयोगी भएको र छिटो सेवा पाएर फर्कन सकिने अवस्था बनेको उनकाे भनाइ छ ।



कार्यविधि संवाददाता । २६ चैत्र २०८२, बिहीबार १०:०८ बजे