डोल्पा । हिमाली जिल्ला डोल्पामा ३०औँ विद्युतीय सुरक्षा दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । नेपाल विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रको आयोजनामा ‘विद्युतीय खतराबाट बचौँ र बचाऔँ’ भन्ने नारासहित बिहीबार बिहान सदरमुकाम दुनैमा कार्यक्रम सम्पन्न गरिएको हो । वितरण केन्द्रका सूचना अधिकारी ध्रुव विकका अनुसार प्रभातफेरी कार्यक्रममा विद्युतको सुरक्षित प्रयोगसम्बन्धी सन्देश बोकेका प्लेकार्ड र नारासहित कर्मचारी तथा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए ।
कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गर्दै पुनः कार्यालयमै पुगेर समापन गरिएको थियो । नेपाल विद्युत प्राधिकरणले हरेक वर्ष चैत २६ गते विद्युतीय सुरक्षा दिवस मनाउँदै आएको छ । विद्युतीय दुर्घटना न्यूनीकरण, सुरक्षित विद्युत सेवा प्रवाह, गुणस्तरीय सामग्रीको प्रयोग, किफायती उपभोग तथा चुहावट नियन्त्रणका विषयमा उपभोक्तालाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वितरण केन्द्रले जनाएको छ ।



कार्यविधि संवाददाता । २६ चैत्र २०८२, बिहीबार १३:५१ बजे