लालपुर्जा वितरण अन्तिम चरणमा

रुकुमपश्चिम ।  चौरजहारीमा नयाँ सहर निर्माण योजनाअन्तर्गत तयार गरिएका घडेरीका अस्थायी लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । चौरजहारीस्थित नयाँ सहर आयोजना कार्यालयले जग्गा विकास तथा एकीकरण कार्यक्रममार्फत नगरपालिका एक घारीगाउँ क्षेत्रमा विकास गरिएका घडेरीको वितरण अब छिट्टै सम्पन्न हुने जनाएको छ । आयोजना प्रमुख इन्जिनियर गौरी पण्डितका अनुसार स्थानीयको जग्गामा कुल एक हजार एक सय ८९ कित्ता घडेरी तयार गरिएको छ । २०७२ सालमा स्थापना भएको आयोजनाले विभिन्न चुनौती पार गर्दै घडेरी वितरणको काम निष्कर्षतर्फ पुर्‍याएको हो । घडेरी विकासका लागि २०७८ सालमा ठेक्का प्रक्रिया पूरा गरी निर्माण कार्य सुरु गरिएको थियो ।

करिब छ सय ५० स्थानीयको पाँच सय ८५ रोपनी जग्गामा विकास गरिएको घडेरीमध्ये ११ कित्ता भने बैङ्कद्वारा रोक्का अवस्थामा रहेका छन् । ती जग्गासम्बन्धी प्रक्रिया अगाडि बढिसकेको र बैङ्कको सहमति तथा अदालतको अनुमति प्राप्त हुनेबित्तिकै नापी र मालपोत कार्यालयसँग समन्वय गरी अस्थायी पुर्जा वितरण गरिने जनाइएको छ । स्थायी लालपुर्जा भने मालपोत कार्यालयबाट उपलब्ध हुनेछ । अस्थायी पुर्जा वितरणपछि उक्त क्षेत्रमा घडेरी किनबेच र आवास निर्माण तीव्र हुने अपेक्षा गरिएको छ । आयोजना कार्यालयका अनुसार व्यवस्थित नाला, विद्युत् विस्तार, खानेपानी लगायतका पूर्वाधार विकासका काम पनि निरन्तर अगाडि बढाइनेछ ।

सरकारद्वारा घोषणा गरिएका १० नयाँ सहरमध्ये चौरजहारी क्षेत्र सानो उपत्यकाका रूपमा विकास भइरहेको छ । यहाँ सभा हल, कभर्ड हल, डम्पिङ साइट तथा कृषि उपज संकलन केन्द्र निर्माणाधीन अवस्थामा छन् । यसअघि बसपार्क, सेवा केन्द्र भवन निर्माणका साथै विभिन्न सडक निर्माण, स्तरोन्नति र कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । हालसम्म ५७.१ किलोमिटर सडक ट्र्याक खोल्ने, स्तरोन्नति र ग्राभेल गर्ने कार्य पूरा भएको छ भने ११.४ किलोमिटर सडक कालोपत्रे गरिएको छ । त्यस्तै २.२ किलोमिटर सडक ढलान, चार सय २० मिटर सोलिङ र ३१.७ किलोमिटर नाली निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।