हुम्ला । आर्थिक वर्ष समाप्त हुन अब करिब तीन महिना मात्र बाँकी रहँदा सिमकोट गाउँपालिकाले वार्षिक कार्यक्रममा समावेश गरेका योजनामध्ये झण्डै आधा योजना अझै सम्झौता हुन सकेका छैनन् । वडा तथा बस्तीस्तरमा सञ्चालन गर्नुपर्ने योजनाका लागि उपभोक्ता समितिहरू समयमै सम्पर्कमा नआउनु र गाउँपालिकाले आवश्यक ताकेता नगर्नु सम्झौता प्रक्रियामा ढिलाइ हुनुका मुख्य कारणका रूपमा देखिएको छ । गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराका अनुसार हालसम्म कुल योजनामध्ये ४८.६३ प्रतिशत योजना सम्झौता हुन बाँकी छन् ।
चालु आर्थिक वर्षका लागि तर्जुमा गरिएका १८३ योजनामध्ये ८९ योजनाको अझै सम्झौता हुन सकेको छैन । अब आर्थिक वर्ष सकिन थोरै समय मात्र बाँकी रहेकाले बाँकी योजनाहरू समयमै सम्पन्न गर्न चुनौती देखिएको छ । साथै, ढिलाइका कारण सुरु भएका योजनाको गुणस्तरमा समेत असर पर्न सक्ने भन्दै अब नयाँ योजना सम्झौता गर्दा सावधानी अपनाउनुपर्ने बताइएको छ । हालसम्म ८२ योजनाको सम्झौता भई कार्यान्वयन भइरहेको छ भने तीमध्ये ११ योजना सम्पन्न भइसकेका छन् ।
एक वर्षअघि तर्जुमा गरिएका योजनाहरू समयमै कार्यान्वयन हुन नसक्नुमा सबै पक्षको जिम्मेवारी कमजोर रहेको बोहराको भनाइ छ । उनका अनुसार कार्यालय, प्राविधिक, उपभोक्ता समिति तथा जनप्रतिनिधि सबै यसमा बराबरी जिम्मेवार छन्।साथै, योजना कार्यान्वयनमा ढिलाइ हुनुका कारणबारे नागरिक समाजले पनि पर्याप्त चासो नदेखाएको उनको टिप्पणी छ। यता प्राविधिकहरूका अनुसार लागत इस्टिमेट तयार भइसके पनि उपभोक्ता समिति समयमै नआउँदा काम अगाडि बढ्न सकेको छैन।



कार्यविधि संवाददाता । २७ चैत्र २०८२, शुक्रबार ११:४२ बजे