सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका स्थित सायाँ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ५४ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । मोतिबिन्दु तथा आँखामा मासु पलाउने समस्याबाट पीडित बिरामीहरूले शल्यक्रियापछि गुमेको दृष्टि पुनः प्राप्त गरेका छन् । स्वास्थ्य चौकीका संयोजक बबरजंग पालका अनुसार ५२ जनामा मोतिबिन्दु र दुई जनामा अन्य आँखासम्बन्धी समस्या देखिएको थियो, जसको सफल उपचार गरिएको हो ।
शल्यक्रिया पछि सबै बिरामीलाई पुनः परीक्षण र आवश्यक परामर्श दिएर घर पठाइएको छ । शिविरमा विभिन्न उमेर समूहका बिरामीले सेवा लिएका छन् । ४९ वर्ष मुनिका ३ जना, ५० देखी ५९ वर्षका चार जना, ६० देखी ६९ वर्षका २४ जना, ७०–७९ वर्षका १६ जना र ८० वर्षभन्दा माथिका सात जनाको शल्यक्रिया गरिएको हो । तीमध्ये २९ जना महिला र २५ जना पुरुष रहेका छन् । दुई दिनसम्म सञ्चालन भएको शिविरमा कुल तिन सय १४ जनाको आँखाको जाँच तथा उपचार गरिएको थियो, जसमा एक सय ८७ महिला र एक सय २७ पुरुष सहभागी थिए ।
शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा. सुनिल थापा सहित चार जना विशेषज्ञ चिकित्सक र स्थानीय स्वास्थ्यकर्मी गरी १९ जनाको टोली परिचालन गरिएको थियो। यसबाट सर्केगाड र चंखेली गाउँपालिकाका बासिन्दाहरू विशेष रूपमा लाभान्वित भएका छन् । पछिल्ला चार वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यस शिविरले स्थानीय स्तरमै आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको छ । शिविर सर्केगाड गाउँपालिकाको समन्वय, सेवा फाउन्डेसनको आर्थिक सहयोग र तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो । घर नजिकै सेवा पाउँदा स्थानीय बासिन्दा निकै खुसी देखिएका थिए ।



कार्यविधि संवाददाता । १९ बैशाख २०८३, शनिबार १४:०४ बजे