जाजरकोट । जाजरकोट सदरमुकाम खलंगामा व्यवस्थित बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या बढ्दै गएको छ । करिब दुई दशकअघि यातायात सेवा सञ्चालनमा आए पनि अहिलेसम्म उचित बसपार्क निर्माण हुन नसक्दा व्यवसायी र यात्रु दुवै समस्यामा परेका छन् । सदरमुकाम क्षेत्रमा दैनिक पाँच दर्जनभन्दा बढी लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावत गर्छन् । तर, बसपार्क अभावका कारण सवारीसाधन सडक किनारमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ ।
भेरी नगरपालिका–४ शान्तिचौतारामा रहेको हालको बसपार्क सानो हुनुका साथै निजी जग्गामा पर्ने भएकाले एक दर्जन सवारीसाधन पार्किङ गर्नसमेत कठिन हुने गरेको छ । भेरी गंगा यातायात प्रालिका सुनिल खनालका अनुसार बसपार्क अभावकै कारण सडकमै गाडी पार्किङ गर्नुपरेको छ । जाजरकोटबाट नेपालगञ्ज, सुर्खेत तथा कालिमाटी–बारेकोट–तल्लुबगर हुँदै डोल्पा र रुकुम पश्चिमसम्म दैनिक तीन दर्जनभन्दा बढी सवारीसाधन सञ्चालन भइरहे पनि उपयुक्त पार्किङ स्थलको अभाव रहेको छ ।
जाजरकोट–काठमाडौँ रुटमा पनि नियमित सवारी सञ्चालन हुँदै आएको छ । बसपार्क निर्माणका लागि सरोकारवालाबीच पटक–पटक छलफल भए पनि शान्तिचौतारामा बनाउने कि तल्लो थाप्लेमा बनाउने भन्ने विवाद टुंगोमा नपुग्दा समस्या समाधान हुन सकेको छैन । बसपार्कका लागि छुट्याइएको स्थानमा अव्यवस्थित बसोबास बढ्दै जाँदा समस्या झन् जटिल बनेको व्यवसायीहरूको भनाइ छ ।
भेरी नगरपालिका–४ का समाजसेवी खम्बजंग शाहले सरोकारवालाबीचको मतभेदकै कारण सवारीसाधन सडकमै राख्नुपर्ने अवस्था आएको बताउनुभयो। पार्किङका लागि पर्याप्त स्थान नहुँदा क्षमता भन्दा बढी सवारीसाधन सडकमा राख्नुपरेको उनकाे भनाइ छ । लामो तथा छोटो दूरीका सवारीसाधन नियमित रूपमा सञ्चालन भइरहे पनि व्यवस्थित बसपार्क नहुँदा पार्किङ समस्या दिनप्रतिदिन बढ्दै गएको छ ।



कार्यविधि संवाददाता । २७ चैत्र २०८२, शुक्रबार ११:५१ बजे