सुर्खेत । कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा परिचित सुर्खेत विमानस्थलबाट सञ्चालन हुँदै आएको निःशुल्क सटल बस सेवा विस्तार गरिएको छ । यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बिहीबार विमानस्थल र सटल बस सेवाको स्थलगत अनुगमनपछि सेवा थप प्रभावकारी बनाउन निर्देशन दिएपछि नयाँ रुटसहित सेवा सञ्चालनमा ल्याइएको हो । सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख हिराजन काफ्लेले बिहीबार जारी गरेको सूचना अनुसार शुक्रबारदेखि लागू हुने गरी सटल बस सेवा विस्तार गरिएको हो ।
यसअघि विमानस्थलदेखि तीनकुने चोकसम्म मात्रै सञ्चालन हुँदै आएको सेवा अब सुर्खेत विमानस्थलदेखि कालुन्चोक, घण्टाघर चोक, मंगलगढी चोक हुँदै तीनकुने चोकसम्म सञ्चालन हुनेछ । कार्यालयले यात्रुहरूको सहज आवतजावत, सुरक्षित यात्रा तथा बजार क्षेत्रसँगको पहुँचलाई थप व्यवस्थित बनाउन सेवा विस्तार गरिएको जनाएको छ । विमानस्थल प्रमुख काफ्लेले जारी गरेको सूचनामा यात्रु महानुभावलाई नयाँ रुटबारे जानकारी गराउँदै निःशुल्क सेवाको अधिकतम उपयोग गर्न आग्रह गरिएको छ । पछिल्लो समय सुर्खेत विमानस्थल कर्णाली प्रदेशको पर्यटन, व्यापार तथा प्रशासनिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
काठमाडौंबाट दैनिक नियमित उडान सञ्चालन हुनुका साथै कर्णालीका हिमाली जिल्लातर्फ यात्रा गर्ने यात्रुको संख्या बढ्दै जाँदा विमानस्थल आसपासको यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको थियो । विशेषगरी पहिलो पटक सुर्खेत आउने यात्रु, ज्येष्ठ नागरिक, पर्यटक तथा महिलाहरूलाई विमानस्थलदेखि बजारसम्म पुग्न सहज र सुरक्षित यातायातको आवश्यकता महसुस हुँदै आएको थियो । यही अवस्थालाई ध्यानमा राख्दै सटल बस सेवा विस्तार गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बताए । उनले सार्वजनिक यातायातलाई व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यसहित सेवा विस्तार गरिएको उल्लेख गरे ।
उनले भने “आन्तरिक हवाई यात्रु, पर्यटक तथा ज्येष्ठ नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सटल बसको रुट विस्तार गरिएको हो । यसले यात्रुलाई विमानस्थलबाट बजारसम्म पुग्न निजी सवारी प्रयोग गर्नुपर्ने बाध्यता कम गर्नेछ ।” सटल बस सेवा विस्तारसँगै यात्रुहरूले अब विमानस्थलबाट वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रसम्म सहज रूपमा यात्रा गर्न सक्ने अपेक्षा गरिएको छ । यसले आर्थिक रूपमा समेत यात्रुलाई राहत पुग्ने विश्वास गरिएको छ । विमानस्थलमा ओर्लिएपछि महँगो ट्याक्सी वा निजी सवारी प्रयोग गर्नुपर्ने अवस्थालाई कम गर्दै सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने देखिएको छ ।
स्थानीय व्यवसायी तथा पर्यटन क्षेत्रसँग आबद्ध व्यक्तिहरूले पनि सेवा विस्तारको स्वागत गरेका छन् । उनीहरूका अनुसार विमानस्थल र बजार क्षेत्रबीचको पहुँच व्यवस्थित हुँदा व्यापार, पर्यटन तथा सेवा क्षेत्रले प्रत्यक्ष लाभ पाउनेछ । विशेषगरी बाहिरी जिल्लाबाट आउने पर्यटक र व्यवसायिक प्रयोजनका यात्रुहरूलाई सहजता हुने विश्वास गरिएको छ । सुर्खेत विमानस्थल कर्णाली प्रदेशको मुख्य हवाई केन्द्रका रूपमा विस्तार भइरहेका बेला यात्रु सेवामा गरिएको सुधारलाई सकारात्मक कदमका रूपमा हेरिएको छ । आगामी दिनमा यात्रु चापअनुसार थप सेवा विस्तार र आधुनिक व्यवस्थापन आवश्यक रहेको स्थानीयको भनाइ छ ।



कार्यविधि संवाददाता । ८ जेष्ठ २०८३, शुक्रबार १३:३४ बजे