महँगियाे खाद्य बजार, बिक्रीविरणमा चुनौती

हुम्ला ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लामा बजार मूल्यभन्दा महँगो दरमा खाने तेल बिक्री गर्न लागेको पाइएको छ । ढुवानी अनुदानमा ल्याइएको तेलसमेत महँगो मूल्यमा बिक्री गर्न लागिएपछि यसको बिक्रीमा चुनौती देखिएको छ । स्थानीय व्यापारी लोकेन्द्र रावतका अनुसार बजारमा सूर्यमुखी तेल प्रतिलिटर २ सय ८० रुपैयाँमा पाइँदा लिमिटेडले २ सय ९१ रुपैयाँमा बिक्री गर्न लागेको छ । त्यस्तै, भटमासको तेल बजारमा २ सय ६० रुपैयाँ प्रतिलिटर रहेको अवस्थामा लिमिटेडले २ सय ८५ रुपैयाँ निर्धारण गरेको छ ।

यसअनुसार सूर्यमुखी तेलमा प्रतिलिटर ११ रुपैयाँ र भटमासको तेलमा २५ रुपैयाँसम्म बढी पर्ने देखिएको छ । मूल्य अन्तरका कारण उपभोक्ताले लिमिटेडको तेल खरिद नगर्ने सम्भावना रहेको व्यवसायीहरूको भनाइ छ । यता लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण थापा मगरले हाल बजार मूल्यमा वृद्धि भएकाले तेलको मूल्य उच्च देखिएको बताए । उनका अनुसार ढुवानी अनुदानमा ल्याइएको भए पनि लागतका कारण मूल्य केही बढी परेको हो ।

उनले  बजारमा पहिलेदेखि मौज्दात रहेका तेल सस्तो दरमा उपलब्ध भएकाले लिमिटेडको तेल बिक्रीमा कठिनाइ हुन सक्ने स्वीकार गरे । साथै, स्थानीय बजार मूल्यको पर्याप्त अध्ययन नगरी तेल पठाइएकाले यस्तो समस्या देखिएको उनकाे भनाइ छ ।  बिहीबार लिमिटेडको सुर्खेत कार्यालयबाट पाँच हजार ५०० लिटर सूर्यमुखी तेल पाँच सय  लिटर भटमासको तेल हुम्ला शाखामा आइपुगेको छ ।