कर्णाली उत्सवमा आज बहस, विचार र सिर्जनाको संगम

सुर्खेत ।  वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको सातौँ संस्करण अन्तर्गत आज दोस्रो दिन पनि विचार, बहस र सांस्कृतिक प्रस्तुतिहरूको शृङ्खला जारी रहने भएको छ । कार्यक्रम सिटी हलको प्राङ्गणमा दिउँसो १२ बजे ‘बाजा र धुन’ को सांगीतिक प्रस्तुति साथ सुरु हुनेछ । त्यसपछि १२:३० बजे ‘प्रतिरोधी पाइला’ शीर्षकमा अधिकारकर्मी उमा वादीले विशेष विद्वत प्रवचन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कर्णालीका सामाजिक, आर्थिक तथा विकासका विविध आयाममा केन्द्रित आजका बहसहरूले प्रदेशको समृद्धिको मार्गचित्रमा नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको छ ।

कनेक्टिभिटीदेखि उद्यमसम्म बहस

दिउँसो १ बजे ‘कनेक्टेड कर्णाली’ सत्र सुरु हुनेछ, जसमा सुमन जोशी, केशवकुमार शर्मा र सुवास शर्माले भौतिक तथा डिजिटल पूर्वाधार विकासबारे आफ्ना धारणा राख्नेछन् । सत्रको सहजीकरण उमा थापा मगरले गर्नेछिन् । त्यसपछि २ बजे ‘शिक्षाको उकाली–ओराली’ सत्रमा घनश्याम भण्डारी, डा. पुष्पराज आचार्य र जनककली नेपालीले शिक्षा क्षेत्रका चुनौती र सम्भावनाबारे छलफल गर्नेछन् । ३ बजे ‘उद्यमको उडान’ सत्रमा पोषण रेग्मी, कल्पना विष्ट र शिला नेपालीले स्थानीय उद्यमशीलता र आर्थिक अवसरका विषयमा विचार राख्नेछन् ।

विकास र वातावरणदेखि पत्रकारितासम्म छलफल

दिउँसो ४:१५ बजे ‘विकासको गोरेटो, प्रकृतिको ओत’ सत्र सञ्चालन हुनेछ। यसमा केपी खनाल, डा. नरेश सुवेदी, रूपक रावल र पवन थापाले विकास र वातावरणबीचको सन्तुलनबारे बहस गर्नेछन् । साँझ ५:१५ बजे ‘डटपेनदेखि डटकमसम्म’ सत्रमा किरण नेपाल, उमेश श्रेष्ठ र कृष्णमाया उपाध्यायले पत्रकारिता र सूचना पहुँचका विषयमा संवाद गर्नेछन् ।

कविता र संगीतसँग समापन

दिनभरका बहसपछि साँझ ६:१५ बजे ‘कविता उत्सव’ मार्फत कार्यक्रम समापन हुनेछ । ‘कर्णाली कन्सर्ट : कविता साँझ’ अन्तर्गत कविहरू दीपा बोहरा ‘निहार’, लक्ष्मण मानव र समीरा नेपालले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन् । पंकी बोहराको सञ्चालनमा हुने यो सत्रले उत्सवलाई साहित्यिक र सांगीतिक रंग दिने अपेक्षा गरिएको छ । कर्णालीको आवाजलाई राष्ट्रिय बहसमा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यो उत्सवमा आजका कार्यक्रमहरूले थप ऊर्जा र विचारको आयाम थप्ने विश्वास गरिएको छ ।