मुद्दा शाखा अभाव, स्थानीयलाई सदरमुकाम धाउनुपर्ने बाध्यता

सल्यान ।  पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका अन्तर्गत पर्ने इलाका प्रहरी कार्यालय सल्लीबजारमा मुद्दा शाखा नहुँदा स्थानीयवासीले सामान्य कानुनी प्रक्रियाका लागि पनि जिल्ला सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यता भोगिरहेका छन् । साक्षी बयान, उजुरी दर्ता, कागजात प्रमाणीकरण तथा अनुसन्धानसम्बन्धी कार्यका लागि पटक–पटक लामो दूरी तय गर्नुपर्दा समय र खर्च दुवै बढेको स्थानीयको गुनासो छ । विशेषगरी फौजदारी प्रकृतिका मुद्दामा म्याद थप तथा अनुसन्धान प्रक्रिया जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लुहाम र थारमारेबाट मात्रै हुँदै आएको छ ।

बनगाड कुपिण्डे नगरपालिका–१० का युवा राजेश वलीका अनुसार सल्लीबजारमै मुद्दा दर्ता भए पनि साक्षीसहित बारम्बार खलङ्गा जानुपर्ने अवस्था छ, जसले नागरिकलाई थप आर्थिक र मानसिक बोझ परेको छ । उनले छिट्टै मुद्दा शाखा सञ्चालन हुने आश्वासन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त भएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता देवराज भट्टराईले सल्लीबजारमा मुद्दा शाखा स्थापना गर्न आवश्यक जनशक्ति, स्रोत–साधन र माथिल्लो निकायको स्वीकृति आवश्यक पर्ने बताए ।

यस विषयमा आवश्यक पहल भइरहेको उनले जानकारी दिए । हाल इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरूबाट उजुरी दर्ता र प्रारम्भिक अनुसन्धान भए पनि फौजदारी तथा अन्य ठूला मुद्दाका कानुनी प्रक्रिया अदालत र जिल्ला प्रशासन कार्यालयमार्फत हुने भएकाले सेवाग्राहीलाई सदरमुकाम पुग्नुपर्ने अवस्था अझै कायम छ । स्थानीय सरोकारवालाले सल्लीबजारमै मुद्दा शाखा स्थापना गरिए सेवाप्रवाह सहज हुने, समय र खर्च बचत हुने तथा नागरिकको न्यायमा पहुँच थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।