इन्धनकाे संकट चुलिँदा कर्णाली सबैभन्दा जोखिममा

सुर्खेत ।  मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वव्यापी इन्धन आपूर्ति प्रणालीमा गम्भीर असर परेको छ। इरान, अमेरिका र इजरायलबीचको द्वन्द्व चर्किँदै जाँदा विश्वको करिब २० प्रतिशत इन्धन आपूर्ति हुने हर्मुज जलडमरूमा अवरोध सिर्जना भएको छ । यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल बजारमा देखिएको छ, जसले विश्व अर्थतन्त्रसँगै नेपालजस्तो आयातमा निर्भर देशलाई पनि प्रभावित बनाएको छ । अन्तर्राष्ट्रिय बजारको अस्थिरताले नेपालमा पछिल्लो ६ महिनामा सात पटकसम्म इन्धनको मूल्य वृद्धि भएको छ । यदि मध्यपूर्वको अवस्था चाँडै सुधार नआए, मूल्यवृद्धिको यो क्रम अझै लम्बिन सक्ने देखिन्छ। भारतमार्फत इन्धन आयात गर्ने नेपालका लागि त्यहाँ आपूर्ति अवरुद्ध भएमा देशभर नै संकट गहिरिन सक्छ ।

यस अवस्थाको सबैभन्दा बढी असर कर्णाली प्रदेशमा पर्ने सम्भावना छ । कारण, त्यहाँ पर्याप्त इन्धन भण्डारण गर्ने आफ्नै संरचना छैन । हालको अवस्थामा कर्णालीसँग एक हप्ता पुग्ने इन्धनसमेत भण्डारण गर्ने क्षमता नभएकोले आपत्कालीन अवस्थामा दैनिकी कष्टकर बन्न सक्छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ मा देशभर ९० दिन पुग्ने इन्धन भण्डारण गर्ने लक्ष्य राखेको थियो। अन्य प्रदेशमा यस्तो संरचना निर्माण भए पनि कर्णालीमा भने आवश्यक जग्गा अभावका कारण योजना अझै अलपत्र छ । नेपाल आयल निगमको सुर्खेतस्थित कार्यालयले उपयुक्त जग्गा नपाउँदा निर्माण कार्य अघि बढ्न नसकेको जनाएको छ । वीरेन्द्रनगरमा उपलब्ध सीमित जग्गाले ९० दिनको भण्डारण क्षमताको डिपो निर्माण सम्भव छैन । करिब १० विगाह क्षेत्रफल आवश्यक पर्ने भए पनि उपयुक्त स्थानको अभाव मुख्य चुनौती बनेको छ ।

हाल कर्णालीमा इन्धन आपूर्ति नेपालगन्ज डिपोबाट ट्रकमार्फत हुँदै आएको छ । सुर्खेतमा ल्याएपछि गुणस्तर परीक्षण गरेर निजी बिक्रेतामार्फत वितरण गरिन्छ । प्रदेशमा १३ वटा अधिकृत बिक्रेता छन्, जसले पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका छन् । दुर्गम जिल्लाहरूमा भने ड्रममार्फत इन्धन पुर्‍याइन्छ । विशेषज्ञहरूका अनुसार आपत्कालीन अवस्थाका लागि कर्णालीमा दैनिक करिब ८० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल आवश्यक पर्छ । तर भण्डारण संरचना अभावले संकटको अवस्थामा आपूर्ति व्यवस्थापन निकै चुनौतीपूर्ण बन्न सक्छ । त्यसैले कर्णालीमा इन्धन भण्डारण डिपो निर्माणलाई प्राथमिकतामा राख्न आवश्यक देखिन्छ, ताकि सम्भावित संकटका बेला जनजीवनमा ठूलो असर नपरोस् ।