सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र पर्यटकीय रूपमा आकर्षक बनाउने लक्ष्यसहित नदी नियन्त्रण तथा पानी व्यवस्थापनका ठूला पूर्वाधार निर्माण कार्य सुरु गरेको छ । विगतका वर्षहरूमा योजनामा मात्र सीमित रहेका यी कार्यक्रमहरू यस वर्षदेखि कार्यान्वयन चरणमा प्रवेश गरेका हुन् । प्रदेश सरकारअन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतका अनुसार “प्रदेश राजधानी संरक्षण योजना” अन्तर्गत बुलबुले क्षेत्रको पानी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नदी नियन्त्रणको काम सुरु गरिएको हो । यस परियोजनाको मुख्य उद्देश्य अनियन्त्रित रूपमा बग्ने पानीलाई व्यवस्थित गर्दै बस्ती, कृषि जमिन र प्राकृतिक सम्पदाको संरक्षण गर्नु हो ।
निर्देशनालयका इन्जिनियर उत्तम चौलागाईंका अनुसार २०८२ चैत महिनादेखि औपचारिक रूपमा निर्माण सम्झौता सम्पन्न भई काम सुरु गरिएको छ । जलजला जिपी–अभ्नेस एन्फा जेभीसँग १७ करोड १५ लाख ६७ हजार रुपैयाँको लागतमा ठेक्का सम्झौता गरिएको छ । सम्झौता अनुसार दुई वर्षभित्र अर्थात् २०८४ चैतसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस योजनाअन्तर्गत बुलबुले तालदेखि काँक्रेविहार जंगलसम्म करिब एक किलोमिटर क्षेत्रमा नदी नियन्त्रण संरचना निर्माण गरिनेछ । बुलबुले तालबाट निस्कने पानीलाई तालको किनारै–किनार व्यवस्थित रूपमा काँक्रेविहार क्षेत्रसम्म पुर्याउने गरी डिजाइन गरिएको छ । हालसम्म निर्माण कार्य सुरु भएको करिब १० दिन मात्र भएको भए पनि प्रारम्भिक चरणका कामहरू तीव्र रूपमा अगाडि बढाइएको निर्देशनालयले जनाएको छ ।
यसअघि वर्षायाममा जथाभाबी रूपमा बग्ने पानीका कारण स्थानीय बासिन्दाले ठूलो समस्या भोग्दै आएका थिए । पानी नियन्त्रण नहुँदा खेतबारीमा क्षति पुग्नुका साथै बस्तीमा पानी पसेर जनजीवन प्रभावित हुने गरेको थियो । नयाँ योजना कार्यान्वयनपछि यस्ता समस्याहरू न्यून हुने अपेक्षा गरिएको छ । यस परियोजनाले केवल पानी व्यवस्थापन मात्र होइन, पर्यटकीय विकासलाई समेत समानान्तर रूपमा अघि बढाउने लक्ष्य लिएको छ । बुलबुले क्षेत्रलाई थप आकर्षक र व्यवस्थित बनाउँदै पर्यटकको बसाइ अवधि लम्ब्याउने तथा नयाँ गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको छ । बुलबुलेदेखि काँक्रेविहारसम्म सहज आवतजावतका लागि दुईवटा साना पुल निर्माण गरिनेछ भने पैदलयात्रीका लागि सुरक्षित र सुन्दर मार्ग पनि निर्माण गरिनेछ। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।
यसैबीच, वीरेन्द्रनगर गुरुयोजना अन्तर्गत नयाँ ताल निर्माणको काम पनि समानान्तर रूपमा अघि बढिरहेको छ । चरा संरक्षण, पानी सञ्चयन तथा पर्यावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले करिब १ करोड १२ लाख ३६ हजार रुपैयाँ लागतमा ताल निर्माण गर्न लागिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयले उक्त कामको जिम्मेवारी लिएको छ । कार्यालयका प्रमुख शेखर चपाईंका अनुसार हाल क्षेत्रमा पानीको स्रोत भए पनि चुहावटका कारण त्यसको सदुपयोग हुन सकेको छैन । नयाँ संरचना निर्माणपछि पानी संरक्षणमा सुधार आउने र जैविक विविधता संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । परियोजनाअन्तर्गत कम्पाउन्ड वाल निर्माण, नाला व्यवस्थापन तथा ताल वरिपरि पैदलमार्ग निर्माणजस्ता कामहरू गरिनेछन् ।
बुलबुले क्षेत्र कर्णाली आउने पर्यटकहरूको प्रमुख आकर्षणमध्ये एक हो । विशेषगरी बिदाका दिनहरूमा यहाँ पर्यटकको भीड लाग्ने गर्दछ। दैनिक औसत करिब ६ सय पर्यटकले बुलबुले अवलोकन गर्ने गरेको तथ्यांक छ । पूर्वाधार विकासपछि यहाँको आकर्षण अझ बढ्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । समग्रमा, कर्णाली प्रदेश सरकारले अघि सारेको यो योजना नदी नियन्त्रण, बस्ती संरक्षण, कृषि उत्पादन वृद्धि, पर्यावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई एकैसाथ समेट्ने बहुआयामिक विकास अभियानका रूपमा अघि बढिरहेको देखिन्छ ।



कार्यविधि संवाददाता । ३ बैशाख २०८३, बिहीबार ११:३७ बजे