पत्रकारलाई मानसिक स्वास्थ्य अभिमुखीकरण

रुकुम पूर्व ।  रुकुम पूर्वका क्रियाशील पत्रकारहरूलाई मानसिक स्वास्थ्य तथा आत्महत्या सम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय सञ्चार माध्यममार्फत मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गरी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ रुकुम पूर्वको आयोजना तथा यु.एम.एन. कर्णाली प्रदेश र जनजागरण मञ्च रुकुमको आर्थिक सहयोगमा आइतबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मानसिक स्वास्थ्यको आधारभूत अवधारणा, यसको प्रभाव तथा सुधारका उपायबारे सहजीकरण गरिएको थियो । साथै आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, सम्भावित जोखिम र त्यसले पार्ने प्रभावबारे सहभागी पत्रकारहरूबीच अन्तरक्रियात्मक छलफल गरिएको थियो । त्यसैगरी, सामुदायिक हानिकारक अभ्यास, मद्यपानका असर तथा मानसिक स्वास्थ्यको वर्तमान अवस्थाबारे पनि छलफल गरिएको थियो ।

। सहभागीहरूले समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिप्रति गरिने व्यवहार र दृष्टिकोण परिवर्तन गर्दै जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ रुकुम पूर्वका उपाध्यक्ष बालाराम शेर्पालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजना अधिकृत हस्तबहादुर भग्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा कार्यकारी निर्देशक रनबहादुर परियारले उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासंघका सचिव निराजन शेर्पालीले गरेका थिए ।